तुलसीपुरको विकासः चालु बर्षमा १५ किलोमिटर सडक कालोपत्रे

दाङ,१४ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा १५ किलोमिटर सडक कालोपत्रे गरेको छ । रक्षाचौर चारबाटो चोकदेखि एक्लेवरसम्म १ किलोमिटर, ९४ मिटर, बाससोतादेखि वडा नं.१४ कार्यालय हुँदै मटेरासम्म ५ सय ५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म २ किलोमिटर ६५ मिटरसहित बिभिन्न स्थानमा गरि १५ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।

नगर उपप्रमुख श्यानी चौधरीका अनुसार चालु बर्षमा ९ हजार ९५८ मिटर पक्की नाला, वडा नं.३,७ र १९ का वडा कार्यालय भवनहरूको निर्माण, वडा नं. ९ मा स्वास्थ्य चौकी भवनको तला थप, वडा नं. ९ को मावि दोघरेमा ८ कोठे भवन र वडा नं. ५ को प्रावि गैरापातुको २ कोठे भवन निर्माण भएको छ ।


यस्तै, भारतीय राजदूतावास र उपमहानगरपालिकाको साझेदारीमा राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवन निर्माण भएको छ । उपप्रमुख चौधरीका अनुसार वडा नं. १२ र १८ मा कृषि हाटबजारका लागि पूर्वाधार निर्माण गरिएको  छ । जसमध्ये वडा नं. १२ को हाटबजार सञ्चालनमा समेत आइसकेको छ । त्यस्तै वडा नं. १४ को गोठुवा, वडा नं.४ को खोरिया र वडा नं. १८ को रातामाटा सिँचाइ कुलो निर्माण कार्य सम्पन्न भएको छ ।

त्यस्तै चालु बर्षमा उपमहानगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका घोषणा गरिएको छ ।