जीर्ण राप्ती लोकमार्ग

दाङ, १३ चैत /
राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रूकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवत जावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।“आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”,सल्यानबाट दाङ आउदै गरेका यात्रु रूद्रबहादुर रेउलेले भने “दुर्घटनाको जोखिम उत्तिकै छ ।”

सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मान्छे चिन्न नसिकने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरिर थपक्कै ढाकेको हुन्छ”,मोटरसाइकल चालक लक्ष्मण केसीले भने “खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।”बिग्रिएको ठाउँमा मर्मतका लागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए । “धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स–साना ठेक्का लागिरहेका छन्”,उनले भने “स–साना ठेक्काको काम सकेपछि अर्को बर्षदेखि ठूलो ठेक्का लाग्छ ।”


ठाउँ–ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक वर्ष भित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाई छ । राप्ती लोकमार्ग सुरूमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उनको भनाई छ । तुलसीपुरदेखि रूकुम पश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । ३ बर्षदेखि राप्ती लोकमार्गकालागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालु वर्षकालागि मात्रै विभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढिको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यो सडकमा वर्षेनी करोडौं बजेट छुटिने गरेको भएपनि काम भने नहुँने गरेको पाईएको छ । साभारः अग्रिम साप्ताहिक