काठमाडौँ — दसैं नजिकिँदै गएपछि अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकारी निकाय र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । यही भदौ २१ मा प्रधानमन्त्री कार्यालयमा दसैंका लागि अग्रिम टिकट खुलाउनेबारे छलफल गरिएको थियो ।
छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले असोज दोस्रो साताबाट अग्रिम बुकिङ खुलाउन प्रस्ताव गरेका थिए । तर यसबारे औपचारिक निर्णय भने भइनसकेको विभागले जनाएको छ ।
सबै सवारीलाई स्वास्थ्य सावधानी अनिवार्य गरिने पनि उनले जानकारी दिए । काउन्टरमा भीड कम गराउन अनलाइन टिकेटिङमार्फत बुक गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिनेछ ।
दसैंलाई गाडीको टिकट बुकिङका विषयमा राम्रो तयारी गरेर मात्र निर्णय लिनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘प्रदेश र स्थानीय तहमा सञ्चालन हुने सार्वजनिक सवारीमा भाडा समायोजनका कुरा मिलिसकेका छैनन्,’ उनले भने, ‘लामो दूरीका सवारीमा भाडा समायोजन गरिए पनि प्रदेश र स्थानीय तहमा टुंगो लागिसकेको छैन ।’ चाडबाडअघि नै यसबारे सम्बन्धित प्रदेशहरूले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
लाइभदाङ । ३० भाद्र २०७८, बुधबार ०९:४६ बजे