दाङका चार क्याम्पसको स्ववियुमा महिला नेतृत्व

दाङ, ६ चैत ।
दाङका चार क्याम्पसमा स्ववियुको नेतृत्व महिलाले प्राप्त गरेका छन्। तीमध्ये दुई क्याम्पसका पूरै प्यानलमा महिला रहेका छन्।

                                           

त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका २६ क्याम्पसले स्ववियु नेतृत्व पाउँदैछन्। तीमध्ये १९ क्याम्पसमा विद्यार्थी सङ्घसङ्गठनले सहमतिमै नेतृत्व चयन गरेका छन्। बबई गाउँपालिकाको पुरन्धारा बहुमुखी क्याम्पस हंसपुरमा स्ववियु सभापतिसँगै पूरै कार्यसमिति महिलाले प्राप्त गरेका छन्।


नेपाल विद्यार्थी सङ्घकी नेता गोमा वली स्ववियु सभापति बन्नुभएको छ । सिद्धपृथ्वी जनता क्याम्पस दङ्गीशरणमा पनि स्ववियुको पूरै प्यानलमा महिला निर्वाचित भएका छन्। स्ववियु सभापतिमा अनेरास्ववियुकी आरती चलाउने निर्वाचित हुनुभएको छ ।

घोराहीको स्पान नेसनल कलेजले पनि स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा महिला प्राप्त गरेको छ। जसअनुसार स्ववियु सभापतिमा अनेरास्ववियुकी सीता घर्तीमगर, तुलसीपुरको नोभेक्स इन्टरनेसनल कलेजको स्ववियु सभापतिमा अनेरास्ववियुकै डिला शाही सभापतिमा निर्वाचित हुनुभएको छ । स्ववियु निर्वाचन हुने २६ वटा क्याम्पसमध्ये १८ वटा क्याम्पसमा सर्वसम्मतिमै पदाधिकारी चयन भइसकेको छ ।