
तुलसीपुर,५ असार ।
धेरैजसो बालबालिकाको दैनिक कस्तो हुन्छ? विद्यालय जाँदा बाबाआमासँग जिद्दी गरेर खाजा खर्च माग्ने, अनि विद्यालयको ‘टिफिन टाइम’ मा चकलेट, चाउचाउ वा कुरुमकरुम खानेकुरामा त्यो पैसा सिध्याउने। बालसुलभ आकंक्षा र साना–साना चाहनाहरूमा अल्झिनु यो उमेरका बालबालिकाका लागि स्वाभाविक पनि हो।
तर, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी मन्जित पुनकी सानो उमेरकी छोरी जाेयम पुनको दैनिकी र सोच भने आम बालबालिकाको भन्दा निकै भिन्न र अनुकरणीय देखिएको छ। उनले आफ्नो जिब्रोको स्वाद र साना–साना रहरहरूलाई थाती राखेर खाजा खर्चबापत पाउने रकमलाई खुत्रुकेमा जम्मा गरिन्। दिनदिनै जोडिएको त्यही सानो बचतले कसरी एउटा सिङ्गो विद्यालयको मुहारमा खुसी ल्याउन सक्छ र समाजलाई ठूलो शिक्षा दिन सक्छ भन्ने उदाहरण उनले भर्खरै प्रस्तुत गरेकी छन्।
लामो समयसम्म आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट उनले तुलसीपुर–११ स्थित प्राथमिक विद्यालय पिरगाउँलाई एउटा ३२ इन्चको ब्रान्डेड एलईडी टिभी उपहार दिएकी छन्। आजको डिजिटल युगमा सरकारी विद्यालयका बालबालिकालाई पनि प्रविधिमैत्री शिक्षा दिनुपर्छ भन्ने चेत यी सानी बालिकामा देखिनु आफैँमा अनौठो र गौरवको विषय हो।
टिभी मात्र होइन, उनले विद्यालयका ३६ जना विपन्न विद्यार्थीहरूलाई कापी, एकजना अति विपन्न छात्रालाई विद्यालयको पोशाक (युनिफर्म) र विद्यालय परिसरलाई सुन्दर बनाउन विभिन्न प्रजातिका बिरुवाहरू समेत सहयोग गरेकी छन्। सहयोग सामग्री हस्तान्तरणका लागि विद्यालयमा एउटा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मनबहादुर रावत, वडा सदस्य प्रभा परियार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम चौधरी, र प्रधानाध्यापक रमा बस्नेत (योगी) लगायत शिक्षक, अभिभावक र स्थानीयवासीहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूका आँखाहरू खुसीले रसाएका थिए। उनीहरूले बालिकाको यो कार्यलाई ’केबल एउटा सहयोग’ मात्र नभई आधुनिक समाजका लागि एउटा बलियो प्रेरणाको सन्देश भएको बताए। सानै उमेरमा बचतको महत्त्व बुझ्नु, र त्यो बचतलाई फजुल खर्च नगरी शिक्षा, समाजसेवा र पर्यावरण संरक्षणमा लगाउनु आजका ठूला भनिएका मानिसहरूका लागि पनि चुनौती र पाठ भएको वक्ताहरूको भनाइ थियो।



लाइभदाङ । ५ असार २०८३, शुक्रबार ०५:३५ बजे