पुनः बढ्यो दाङ–काठमाडौं हवाई भाडा

दाङ, २८ भदौ । पटकपटक घटबढ भइरहने दाङ–काठमाडौं हवाई भाडा पुनः बढेको छ। अहिले दाङ–काठमाडौं जाँदा नौ हजार तीन सय ५५ रुपैयाँ भाडा तिर्नुपर्छ। यो भाडा अस्वाभाविक रहेको भन्दै यात्रुहरूले आपत्ति जनाएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले भदौ १० देखि ६ हजार आठ सय १० कायम गर्ने जनाएको थियो। तर, त्यो भाडादर लामो समय लागू हुन सकेन।

अहिले पुनः पुरानै भाडादर कायम भएको प्राधिकरणका तुलसीपुर शाखा प्रमुख नेमकान्त लम्सालले बताए। ‘माथिबाटै भाडा बढेको हो,’ उनले भने, ‘के कारणले भाडा बढ्यो त्यो हामीलाई पनि थाहा हुँदैन।’

अहिले काठमाडौं–दाङ भाडादर सात हजार रहेको छ। भदौ १० गतेदेखि लागू हुने गरी यसलाई घटाएर पाँच हजार सात सय ७० बनाउने प्राधिकरणले बताएको थियो। धावनमार्ग सानो हुनु र इन्धन डिपो स्थापना नहुँदा यसरी भाडा महँगो हुने गरेको छ। जब कि एक सय ३५ किलोमिटर टाढा रहेको नेपालगन्जबाट तीन हजारमा काठमाडौं हवाई यात्रा गर्न सकिन्छ। तर, दाङको भाडादर त्योभन्दा आकाश–पातलको फरक छ।

ठूला जहाज धावनमार्गमा बस्नै सक्दैनन् 
एयरपोर्टको धावनमार्ग पनि छोटो छ। यसको लम्बाइ सात सय मिटर र चौडाइ ३० मिटर छ। धावनमार्गमा १७–१८ सिटभन्दा ठूला जहाज आवतजावत गर्न सक्दैनन्। सानो हावा लाग्नेबित्तिकै ती जहाजहरू अवतरण गर्न सक्दैनन्। त्यसैले धावन मार्ग विस्तार अहिले अपरिहार्य बनेको छ।


नारायणपुर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको प्रक्रिया अघि बढेपछि टरिगाउँ एयरपोर्टलाई परेड खेल्ने स्थान बनाउने हुन् कि भन्ने आशंका पनि पैदा भएको छ। तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा उक्त विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको हवाई पाइलट शिक्षण गर्ने एभिएसन कलेज सञ्चालन गर्ने नीति ल्याएपछि यसमा केही आशंका मिसिएका हुन्।

तर, यो विमानस्थलमा नियमित उडानका लागि धावनमार्ग विस्तारमा पहल थाल्ने राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’ले बताएका छन्। बुधबार दाङबाट काठमाडौं जाने क्रममा एयरपोर्टमा भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले धावनमार्गलाई १२ सय मिटर बनाउन सकियो भने ठूला जहाजले पनि उडान भर्न सक्ने भन्दै यसका लागि आफूले अर्थमन्त्री जनार्दन शर्मासँग कुराकानी गर्ने बताए।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'