सल्यानमा कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

सल्यान,१० कार्तिक । सल्यानमा ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बागचौर नगरपालिका ७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीको स्थानीय दुई युवाले कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बागचौर नगरपालिका ७ स्यालागाउँका २५ वर्षीय केशर वली र शोही ठाउँका २३ वर्षीय सन्तोष वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुटपिट गरी फरार भएका सन्तोषलाई दाङ्ग तुलसीपुर उपमहानगरपालिका १२ रझेना र केशरलाई बागचौर नगरपालिका ९ मौरीघारे परीलेखमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

दुवैजनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सल्यानबाट पक्राउ पुर्जी स्वीकृती गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखिएको उहाँको भनाई छ । यहि कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका ७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर वली र शंकर वलीले मादक पदार्थ सेवन गरी केशर वलीले खुट्टा ढोग्न लगाउँदा घनश्यामले मैले किन तपाईलाई खुट्टामा ढोग्ने ढोग्दिन भने पछि केशर वली र घनश्याम वली बिच हात हालाहाल हुँदा केशर वली र सन्तोष वलीले घनश्यामलाई मराणासन्न हुने गरी कुटपिट गरेका थिए । घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार ८ गते मृत्यु भएको थियो ।