समाचार प्रभाब : तुलसीपुरमा अख्तियारले थाल्यो छानविन

दीपक बोहरा
दाङ,३० फागुन ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले एक महिनामा करिब ३२ लाखको इन्धन खर्च गरेको समाचार प्रकाशन गरेपछि अख्तियारले छानविन थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले आबश्यक कागजात माग गरेको उपमहानगरपालिकाका अख्तियार सम्पर्क ब्यक्ती शिवकुमार शर्माले बताए । फागुन २३ गते मंगलबारको नयाँ पत्रिकामा ‘तुलसीपुर उपमहानगरमा एक महिनामा ३२ लाखको इन्धन खर्च’ शीर्षकमा फ्रन्ट स्टोरीका रुपमा प्रकाशित भएको थियो । लाईभ दाङ डटकममा पनि यो समाचार प्रकाशित थियो ।

त्यो समाचारलाई आधार बनाएर अख्तियारले एक महिनामा ३२ लाख इन्धनमा कसरी खर्च भयो, किन खर्च भयो,जनप्रतिनिधिले दोहोरो सुविधा लिएको कुरा के हो, जस्ता प्रश्न गरेर त्यो संग सम्बन्धित विल,कुपन, गोश्वारा भौचर माग गरेको शर्माले बताए । सोही अनुसार आफूले ड्राफ्ट तयार गरेको उनको भनाई छ ।‘अख्तियारले २५ फागुनमा त्यो पत्र पठाएको छ, सोही अनुसार उता पठाउनकालागि ड्राफ्ट तयार गरेको छु’,उनले भने‘ हाकिम साव आएपछि त्यो पठाउने गरि तयारी भएको छ ।’

तुलसीपुर उपमहानगरपालिकाको लेखा समितिले कात्तिक महिनामा मात्रै ३१ लाख ९७ हजार ३ सय ३२ रुपैँया इन्धन खर्च भएको प्रतिवेदन नगरसभामा पेश गरेको थियो । त्यो प्रतिवेदन नगरसभाले पास गरेको थियो । प्रतिवेदनमा ३२ लाख इन्धन खर्च अस्वभाविक रहेको उल्लेख गरेको थियो । ‘योजना किताब भन्दा बाहिरको काममा हेभि गाडीहरु प्रयोग नहुँने गरि र अन्य हलुका सवारी साधनहरु समेत मितब्ययी रुपले प्रयोग हुने गरि इन्धन खर्च गर्न कार्यालयलाई सुझाब दिने निर्णय गरियो’, प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै उपमहानगरपालिकाले चालु बर्षको माघ महिनासम्म १ करोड ५६ लाख २९ हजार २ सय ७१ रुपैँया बराबरको इन्धन खपत भएको छ । सोही मूल्य बराबरको इन्धनको विल पनि भुक्तानी भइसकेको छ । त्यस्तै थप ४० लाख बराबरको इन्धनको विल पेश भएपनि भुक्तानी भएको छैन ।


उपमहानगरपालिकाले खरिदको नियम विपरित हुने गरि विना प्रतिस्पर्धा गाडी भाडामा लिएको, तुलसीपुरका केही वडाध्यक्षहरुले सरकारी मोटरसाइकल पनि चढ्ने र मासिक सवारी साधन भत्ता पनि लिएको पाईएको प्रतिवेदनमा उल्लेख छ ।

यो पनि

तुलसीपुरमा एक महिनामा ३२ लाखको इन्धन खर्च !