समाचार प्रभाव : एनसिएलले तिरे विद्युत महशुल

दीपक बोहरा
दाङ, ८ चैत ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले दुई वटा एनसिएल टावरको विद्युत काटेपछि महशुल तिरेका छन् । वितरण केन्द्रले हापुरेको र मोतिपुरको टावरको लाईन काटेपछि नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । त्यसपछि दुई वटै टावरको विद्युत महशुल बुझाएर उनीहरुले टावर सूचारु गरेको वितरण केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले बताए ।

उनका अनुसार मोतिपुर टावरको ६ लाख ११ हजार ४ सय ९४ महशुल थियो । जरिवाना सहित साढे ७ लाख भएको छ । सोही टावरको विद्युत महशुल नबुझाएको करिब दुई बर्ष भएको थियो ।

त्यस्तै हापुरेको टावरले पनि दुई बर्षदेखि विद्युतको महशुल बुझाएको थिएन । ५ लाख २० हजार ८ सय ५ रुपैँया बक्यौता छ, भने जरिवाना गर्दा साढे ६ लाख बढि हुन्छ । त्यो दुबै रकम बुझाएपछि पुनः लाईन जडान गरिएको प्रमुख फर्सालले बताए ।


तुलसीपुर उपमहानगरपालिकालाई पुनः पत्र
तुलसीपुर उपमहानगरपालिकाको १ करोड १० लाख बढि विद्युत महशुल तिर्न बाँकी छ । पटक–पटक ताकेता गर्दा पनि तुलसीपुर उपमहानगरपालिकाले पाँच बर्षदेखि विद्युतको बक्यौता रकम बुझाएको छैन । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालका अनुसार उपमहानगरपालिकालाई विद्युत बक्यौता तिर्न पटक–पटक पत्र पठाएको छ । तर, त्यसको कुनै जवाफ आएको छैन । केही दिन अघि मात्रै पनि महशुल तिर्ने विषयमा छलफलकालागि १९ वटै वडाका वडाध्यक्षहरुलाई बोलाएर छलफलकालागि पत्र पठाएको भएपनि त्यसको पनि कुनै जवाफ नआएको बताए ।

अहिलेसम्म आधा दर्जन पटक पत्र पठाईसकेको उनको गुनासो छ । विद्युत महशुल नतिरेको भन्दै विद्युत कार्यालयले एक बर्ष अघि उपमहानगरपालिकाको लाईन नै काटिदिएको थियो । तत्कालिन नगरप्रमुख घनश्याम पाण्डेले विद्युत बक्यौता तिर्ने मौखिक प्रतिबद्धता जनाएपछि विद्युत सूचारु गरिएको थियो । तर, पनि एक बर्षसम्म त्यो प्रतिबद्धता कार्यान्वयन हुन सकेको छैन ।

लिखित सम्झौताकालागि ताकेता गर्दा पनि उपमहानगरपालिकाले त्यो मान्न तयार नभएको समेत फर्सालले बताए । उपमहानगरपालिकाले बजार भित्रका सडकबत्तिको विद्युत महशुल बुझाएको छैन । यदि महशुल नबुझाएमा सडक बत्तिको विद्युत नै काट्ने उनको भनाई छ ।