दाङमा छैनन्, उसु खेलाडी

तुलसीपुर,११ फागुन ।
दाङमा उसु खेलाडी नहुँदा सोही खेलकालागि राष्ट्रपति रनिङ शिल्डमा सहभागी नहुँने भएको छ । प्रदेश र केन्द्रमा उसु खेल रहेपनि दाङबाट त्यो खेलकालागि सहभागि हुने खेलाडी नै छैनन् । दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजकुमार हमालका अनुसार दाङमा राष्ट्रपति रनिङ शिल्डमा भलिबल महिला र पुरुष, कबड्डी महिला र पुरुष, एथ्लेटिक्स, कराते तथा तेक्वान्दो खेल मात्रै हुनेछन् । तर, उसु खेल हुनेछैन ।

जिल्लामा खेलाडी नै नभएकाले त्यो खेल नहुँने भएको हो ।“उसुको प्रशिक्षक नै छैनन्, बाहिरबाट ल्याउनु पर्छ”,उनले भने “त्यसैले यो खेल जिल्लामा आउन सकेको छैन ।”

प्रदेशमा जाने खेलाडी छनौटकालागि दाङमा यही १२,१३ र १४ गते जिल्ला स्तरीय रनिङ शिल्ड हुनेछ । दाङबाट १० वटा स्थानीय तहले भाग लिनेछन् । यस अघि जिल्लामा भएको पालिका स्तरीय छनोट भएका खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । बेलझुण्डी स्थित रंगशालामा जिल्लास्तरीय प्रतियोगिता हुन लागेको हो ।


जिल्ला स्तरीय प्रतियोगिताको लागि आज(विहीबार)सम्म कार्यालय समयमा जन्मदर्तासहित फाराम भर्ने समय तोकिएको छ ।

खेल सफल पार्नकालागि बिभिन्नि उपसमिति समेत निर्माण गरिएको छ । यस पटक १० औं राष्ट्रपति रनिङ शिल्ड हुँदैछ । जिल्ला खेलकूद विकास समितिले यस अघि पोखरामा भएको ९ औं राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने जिल्लाका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश स्तरीय खेलकूद प्रतियोगिताहरु यही फागुन १९,२० र २१ गते बुटवलमा हुनेछ, भने केन्द्रीय राष्ट्रपति रनिङशिल्ड २४,२५ र २६ गते समितिका कोषाध्यक्ष ध्रुब आचार्यले बताए । प्रत्येक बर्ष रनिङ शिल्ड हुनेगर्छ ।