
तुलसीपुर, ३० भदौ ।
तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूले नियमित पठनपाठनमै बेथिति सिर्जना गरी ट्युसन र अतिरिक्त कक्षाको नाममा अभिभावक तथा विद्यार्थीबाट मनपरी शुल्क असुल्ने गरेको भन्दै उपमहानगरपालिकाले त्यसो नगर्न भनेको छ । ‘हेलो सरकार’ र शिक्षा विभागमा परेका विभिन्न गुनासाहरूपछि उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्रका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई पत्र जारी गर्दै विद्यार्थी र अभिभावकका समस्या तत्काल सम्बोधन गर्न कडा निर्देशन दिएको छ।
सामुदायिक विद्यालयमा पूर्णकालीन रूपमा कार्यरत शिक्षकहरूलाई आफ्नै अनुकूलतामा प्रयोग गर्दै ती शिक्षकहरूको समय अनुसार निजी विद्यालयको नियमित तालिका खाली गराउने र बिहान-बेलुकाको अतिरिक्त समयमा नियमित कोर्षकै पठनपाठन गराएर विद्यार्थीहरूबाट शूल्क उठाउने गरिएको पाइएको हो । यसका साथै, विद्यार्थीहरूलाई स्थानान्तरण प्रमाणपत्र (टीसी) दिने क्रममा सरकारले तोकेभन्दा बढी शुल्क असुल गर्ने र विद्यालयभित्र विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक यातना दिने जस्ता गम्भीर कार्यहरू भइरहेको उजुरीमा उल्लेख छ।

यस्ता गैरकानूनी र अमर्यादित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तुलसीपुर उपमहानगरपालिकाका महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले भदौ १७ गते पत्र जारी गरी आगामी दिनमा यस्ता गुनासा नआउने वातावरण बनाउन विद्यालयहरूलाई निर्देशन दिएका छन्।



लाइभदाङ । ३० भाद्र २०८३, मंगलवार ०७:५५ बजे