इश्वरी गैरेले छोडे पार्टी

तुलसीपुर, २९ भदौ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङका नेता ईश्वरीप्रसाद गैरेले सक्रिय राजनीतिबाट पूर्ण रूपमा अलग हुने घोषणा गरेका छन् । उनले भदौ १८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्यताका साथै सम्पूर्ण जिम्मेवारी त्यागेको जानकारी दिएका हुन् । विगत केही समयदेखि आफ्नो अस्वस्थता र पारिवारिक परिस्थितिका कारण पार्टी तथा राजनीतिक जिम्मेवारीलाई पर्याप्त समय र न्याय दिन नसकेको महसुस भएपछि आफूले यो निर्णय लिएको उनले बताएका छन् । आफ्नो यस निर्णयमा कुनै पनि व्यक्ति, नेता, कार्यकर्ता वा संस्थाप्रति कुनै प्रकारको असन्तुष्टि, आरोप वा आक्षेप नरहेको उनले स्पष्ट पारेका छन् ।


उनको राजनीतिक यात्रा वि.सं. २०४१/०४२ सालतिर तुलसीपुरको रक्षाचौरस्थित गुरुजुर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्दा १६/१७ वर्षको उमेरमा विद्यार्थी आन्दोलनमार्फत सुरु भएको थियो।


करिब चार दशकभन्दा बढी लामो राजनीतिक यात्राका क्रममा उनले वि.सं. २०४६ को जनआन्दोलन, २०४८ सालको संसदीय निर्वाचन र देशमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरूमा सक्रिय रूपमा सहभागिता जनाए । अब उप्रान्त कुनै पनि राजनीतिक दलको सक्रिय सदस्य वा जिम्मेवार पदमा संलग्न नभई आफ्नो स्वास्थ्य, परिवार र व्यक्तिगत जीवनलाई प्राथमिकता दिँदै एक स्वतन्त्र नागरिकका रूपमा जीवनयापन गर्ने र समाजप्रति सधैं सकारात्मक सोच राखिराख्ने उनले बताए ।