मन्त्रिपरिषद विस्तारबारे निधिले भने : अब धेरै पर्खिन सकिँदैन

काठमाडौं  १६ असोज।

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाउनु चिन्ताको विषय भएको बताएका छन् ।

शनिबार गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाउनु कांग्रेस, सत्ता साझेदार दल र नेपालकै लागि चिन्ताको विषय भएको बताए ।


‘त्यसकारणले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गठबन्धन दलका सबै दलका नेता र पदाधिकारीहरुसँग म के अनुरोध गर्न चाहन्छु भने अब धेरै ढिला भयो, अब छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाउने गरी तपाईंहरुको निर्णय आउनै पर्ने भयो । अब धेरै पर्खन सकिदैन’ उनले भने ।

उपसभापति निधिले मन्त्रिपरिषद विस्तार हुन नसकेका कारण सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे ।

उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसा त्यागेर मात्रै गान्धीको बाटोमा अघि बढ्न सकिने बताए ।