
दाङ, २९ भदौ ।
नेपालको डिभाइन एजुकेशन फाउन्डेसनको एक प्रतिनिधिमण्डलले थाइल्यान्डको बैंककस्थित प्रसिद्ध युनिभर्सिटी अफ द थाई चेम्बर अफ कमर्स (UTCC) को स्कुल अफ इकोनोमिक्सका शैक्षिक मामिला उपडिन (Vice Dean for Academic Affairs) डा. वारुत सामार्टसँग शिष्टाचार भेटघाट तथा शैक्षिक अन्तरक्रिया गरेको छ।
फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) भोजराज न्यौपानेको नेतृत्वमा गएको टोलीमा प्रबन्ध निर्देशक (MD) ओमप्रकाश न्यौपाने, भाइस प्रिन्सिपल महेश लामिछाने र कोअर्डिनेटर आकाश सिंहको सहभागिता रहेको थियो।
द्विपक्षीय भेटघाटका क्रममा शिक्षाको गुणस्तर अभिवृद्धि, वैदेशिक शैक्षिक सहकार्य, आधुनिक शिक्षण पद्धति तथा नेपाल र थाइल्यान्डबीच शैक्षिक र सांस्कृतिक आदानप्रदानका नयाँ सम्भावनाहरूका विषयमा गहन छलफल भएको छ। छलफलका क्रममा UTCC का उपडिन डा. वारुत सामार्टले दुई देशबीच शिक्षा क्षेत्रमा सहकार्य, अध्ययन-अध्यापनको अनुभव आदानप्रदान तथा विद्यार्थी र शिक्षकहरूबीच अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुको महत्त्वमाथि प्रकाश पार्नुभयो।
कार्यक्रममा फाउन्डेसनका सिइओ भोजराज न्यौपानेले नेपालको वर्तमान शिक्षा क्षेत्रको अभ्यास, अपनाइएका प्रगतिशील शिक्षण पद्धति र आगामी दिनमा अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँगको सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउने रणनीतिक योजनाहरूबारे धारणा राख्नुभयो।
यसैगरी, फाउन्डेसनका कोअर्डिनेटर आकाश सिंहले प्रविधिको महत्त्व दर्साउँदै भन्नुभयो, वर्तमान युग सूचना प्रविधिको युग भएकाले IT को उच्चतम प्रयोग गरी डिभाइनका विद्यार्थीहरूलाई थाइल्यान्डका कक्षाहरूसँग प्रत्यक्ष जोडेर भर्चुअल तथा डिजिटल माध्यमबाट अध्ययन-अध्यापन अगाडि बढाउन सकिन्छ।
उक्त भेटघाटले नेपाल र थाइल्यान्डबीच शिक्षा र संस्कृतिका क्षेत्रमा आपसी समझदारी कायम गर्न, ज्ञान आदानप्रदान गर्न र दीर्घकालीन सहकार्यका नयाँ ढोकाहरू खोल्न महत्त्वपूर्ण योगदान पुर्याएको फाउन्डेसनले जनाएको छ।
अन्तमा, डिभाइन एजुकेशन फाउन्डेसन परिवारले सकारात्मक संवाद र न्यानो आतिथ्यताका लागि डा. वारुत सामार्टप्रति हार्दिक आभार व्यक्त गरेको छ।



लाइभदाङ । २९ भाद्र २०८३, सोमबार १५:११ बजे