तुलसीपुर, २९ भदौ।
ज्ञान ज्योति फाउन्डेसनले आयोजना गरेको ज्ञान ज्योति इन्टर कलेज टी २० क्रिकेट प्रतियोगिताको उपाधि राप्ती बबई क्याम्पस तुलसीपुरले हात पारेको छ।
हिजो सम्पन्न फाइनल खेलमा राप्ती बबईले आयोजक ज्ञान ज्योति कलेज तुलसीपुरलाई ५ विकेटले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राप्ती बबईले रु. ३५ हजार नगद पुरस्कारसहित ट्रफी प्रमाणपत्र र मेडल हात पारेको हो भन्ने उपविजेता आयोजक ज्ञान ज्योतिले रु. १५ हजार नगत ट्रफी प्रमाणपत्र र मिडल प्राप्त गरेको छ।
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि सुरेश हमालले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद क्षेत्रको विकासमा पनि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना र प्रतिस्पर्धात्मक सोचको विकास गर्ने भएकाले विद्यालय तथा कलेजस्तरमा नियमित रूपमा खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेमा समेत जोड दिएका थिए।
यता आयोजक ज्ञान ज्योति फाउन्डेसनले प्रतियोगिताले कलेजस्तरमा क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचानमा सहयोग पुगेको उद्देश्यका साथ आफुहरुले प्रतियोगिता संचालन गरेको बताएको थियो ।



लाइभदाङ । २९ भाद्र २०८३, सोमबार ०८:५१ बजे