प्रतिष्ठानको सौचालयबाट भाग्न खोजेका थुनुवा पुनः पक्राउ

घोराही, १३ कार्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न लगेको समयमा सौचालयबाट भागेका थुनुवा पुनः पक्राउ परेका छन् । प्रतिष्ठानको सौचालयको झ्यालबाट भाग्नेमा घोराही उपमहानगरपालिका–१७ चौघेरा घरभई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिव १८ बर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार प्रहरीको हिरासतमा रहेका थुनुवा घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षणका लागि लगिएका अभियुक्त नेपाली सोमवार विहान करिव ११ बजेतिर सौचालयको झ्यालबाट भागेका थिए । भागे लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा चलचित्र मन्दिर पछाडीबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मल्ले जानकारी दिएका छन् ।


प्रहरी नायव उपरिक्षक मल्लले भने,‘आफु अस्वस्थ रहेको बताएपछि प्रहरीले सोमवार घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । त्यस क्रममा सौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।’ प्रहरीका अनुसार नेपाली मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका थिए । प्रहरीका अनुसार नेपाली यसअघि पनि चोरीको आरोपमा पटक पटक पक्राउ पर्ने गरेका थिए ।