राष्ट्रपति आउने भएपछि सिंगारियो विश्वविद्यालय

दीपक बोहरा
दाङ,२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि नेपाल संस्कृत विश्वविद्यालय सिंगारिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयदेखि आयुर्वेद शिक्षण अस्पतालसम्मलाई चिटिक्क पारिएको छ । केन्द्रीय कार्यालयको प्राङ्गणमा राष्ट्रपति सवार हेलिकप्टर अवतरण गर्ने छ । त्यसपछि राष्ट्रपतिलाई सिधै शिक्षण अस्पताल लगिनेछ ।

हेलिकप्टर अवरण गरेको ठाउँदेखि शिक्षण अस्पताल लैजाने बाटो बनाईएको छ । जहाँ पहिले धुलाम्मे हुन्थ्यो । अहिले पानी छर्किनुकासाथै ग्राभेल हालेर चिटिक्क पारिएको छ । बाटो वरिपरि ध्वजापतकाले सजाईएको छ । बुधबार विहान ११ बजे राष्ट्रपति भण्डारी शिक्षण अस्पतालको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ५ बर्ष अघि निर्माण सम्पन्न भएको उक्त भवनको भण्डारीले सिलन्यास गर्नेछन् । २४ करोड ७२ लाख बढि लगतमा उक्त भवन निर्मण भएको हो । उक्त भवन २०७४ असारमा निर्माण सम्पन्न भइ २०७४ मंसीरमा निर्माण कम्पनीले विश्वविद्यालयलाई हस्तान्तरण गरेको थियो ।

कोरोनालगायतका कारणले उक्त भवन उद्घाटन गर्न सकिएको थिएन । सोही भवनमा लुम्बिनी प्रदेश सरकारले कोरोना बिशेष अस्पतालको रुपमा पनि सञ्चालनमा ल्याएको थियो । त्यो भन्दा अघि आयुर्वेदमा स्नातक(विएएमएस) अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक गर्नकालागि ओपीडी पनि सञ्चालनमा थियो । तर, अहिले ओपीडी बन्द अबस्थामा छ । सोही भवनमा अहिले विएएमएसका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । पाँचवटा ब्याजले अहिले नियमित सोही विद्यालयमा अध्ययन गरिरहेका छन् । सोही भवनमा १०८ वटा कोठा छन् । तीन वटा खण्ड मिलाएर एउटा बनाईएको सोही भवन तीन तलाको छ ।


राष्ट्र प्रमुख विश्वविद्यालयमा आएको पहिलो पटक हो । यो भन्दा पहिले २०५४ सालमा भएको प्रथम दिक्षान्त समारोहमा राजा विरेन्द्र आएका थिए । त्यसयता राष्ट्रप्रमुख आएका थिएनन् । राष्ट्रपति आउने भएपछि सुरक्षा ब्यबस्था पनि कडा बनाईएको छ । त्यसको सबै तयारी पूरा भएको विश्वविद्यालयका कुलसचिब माधव अधिकारीले बताए । आज(मंगलबार) पत्रकार सम्मेलन गरि उनले सबै तयारी पूरा भएको जानकारी दिए ।