विकट ‘गंगटे’मा मन्त्री मास्कीको पहिलो कार्यक्रम

दीपक बोहरा
तुलसीपुर,१७ वैशाख । दाङको कर्णाली भनेर चिनिने‘गंगटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका वडा नं. १ मा पर्ने उक्त ठाउँमा विद्युतका पोल गाडिएको ४ बर्ष भयो । २ बर्ष अघि त्यहाँ विद्युत उद्घाटन पनि भयो । तर, त्यो विद्युत उद्घाटनको दिन मात्रै बल्यो, त्यसपछि विद्युत बलेन । अहिले सबैका घर अगाडी विद्युतका पोल र तार टाँगिएपनि विद्युत भने पुगेको छैन ।

सडक सञ्जालको अबस्था पनि निकै नाजुक छ । आधा घण्टामा पुग्नु पर्ने ठाउँमा साढे २ घण्टा लाग्ने गर्छ । त्यति मात्रै होइन्, बर्षादमा कोही विरामी परे ४ घण्टा किउरेनीबाट पैदल हिडेर कि त हापुरे पुग्नु पर्छ, कि त कोहलपुर जानलाई शम्शेरगञ्ज जानु पर्छ । बीचमा राष्ट्रिय निकुञ्ज पनि पर्ने गर्छ । जंगली जनावरको उत्तिकै डर हुन्छ । कोहीको अकालमै मृत्यु हुने अबस्था रहेको स्थानीय अगुवा गम्मरचन रोकाले बताउनुभयो ।“बर्षेनी ४/५ जनाको उपचार नपाएरै मृत्यु हुन्छ”,उहाँले भन्नुभयो ।

   १० बर्ष अघि त्यहाँ ट्रयाक खोलिएको हो । गंगटेमा कक्षा १० सम्म पढाई हुने एउटा विद्यालय छ । त्यो भन्दा माथिको शिक्षा लिनकालागि कि त तुलसीपुर, कि त नेपालगञ्ज जानुपर्ने अबस्था रहेको छ ।“यहाँ उच्च शिक्षाकालागि एउटा क्याम्पस पनि छैन, कित नेपालगञ्ज, कि त तुलसीपुर नै पुग्नु पर्ने अबस्था छ”, रोकाले भन्नुभयो“यहाँ क्याम्पस नहुँदा धेरैजना कक्षा १० पढ्ने र त्यसपछि पढाई छोड्ने गरेका छन् ।”

त्यहाँ खानेपानी समस्या पनि उस्तै छ । नजिकमा पानीका मुहान हुँदैनन् । टाढाटाढाबाट पानी बोकेर ल्याउनु पर्छ । खानेपानीका धारा ल्याउनकालागि पटक-पटक गंगटेबासीले माग गरे । तर, ति मागहरु सम्बोधन हुन सकेनन् । गंगटेमा फोन सुविधा पनि प्रभाबकारी छैन । गंगटेको तीनतलेमा टावर बनेको छ, त्यसले केही राहात दिएपनि केही ठाउँमा भने अझै पनि गाउँमै पुग्नु पर्छ ।

स्वास्थ्यको पनि त्यस्तै समस्या छ । एउटा स्वास्थ्य चौकी छ । त्यो स्वास्थ्य चौकीमा सामान्य खालको उपचार हुन्छ । त्यसपछि ठूलो-ठूलो उपचार गर्न पनि तुलसीपुर तथा नेपालगञ्ज नै जानुपर्छ । त्यहाँ बबई नदीमा तटबन्ध पनि छैन । भने स्थानीय खोलाहरुमा पनि पुल बन्न नसकेको अबस्था छ । यसले पनि त्यहाँका नागरिकहरुको जीवनस्तर कष्टकर छ ।

गंगटे विकट क्षेत्रमा भएपछि सडक पुगेपछि भने रमणीय ठाँउ छ । वरपर डाँडाकाँडा र बीचमा उपत्यका छ । त्यहाँ मकै, धान, कोदो, तोरीलगायतका खाद्यान्न राम्रो उत्पादन हुने गर्छ । बबई नदी नजिक पर्ने भएकाले माछा मारेर पनि उनीहरुले जीवन निर्वाह गर्ने गर्छन्, वनजंगल पनि भएकाले दाउराको पनि समस्या छैन । त्यहाँ ठूला-ठूला साललगायतका रुखहरु सुकेर नष्ट भइरहेका हुन्छन् । तिनलाई निकासी गर्न कानुनीलगायतका समस्या भएपछि ति त्यसै सुकेर नष्ट हुने गरेका छन् ।


त्यहाँ ५ हजार भन्दा बढि जनसंख्यामा बसोबास छ । तर, अधिकांस ब्यक्ती सुकुम्वासी छन् । ३८ विघा क्षेत्रफल मात्रै नापी छ । अरु सबै ऐलानी जग्गा रहेको छ ।
मास्कीको पहिलो कार्यक्रम गंगटेमा
जनताका यी समस्या सम्बोधन गर्न धनबहादुर मास्की(राजेश) मन्त्री भएपछिको पहिलो कार्यक्रम गंगटे गर्नुभयो । सोही क्षेत्रबाट निर्वाचित मास्कीले आफ्नो क्षेत्रको विकट क्षेत्र‘गंगटे’ भएकाले यहाँको विकासकालागि पहिलो कार्यक्रम नै गंगटे गरेको बताउनुभयो । उहाँकै पहलमा शनिबार बिशेषज्ञ स्वास्थ्य शिविर भएको थियो । त्यो शिविरबाट करिब चारसय जनाले बिशेषज्ञ स्वास्थ्य शिविर लिए ।

यस अघि निर्वाचन जितेपछि नेताहरु देखा समेत नपर्ने गरेको त्यहाँका बासिन्दाको गुनासो थियो । तर, मास्की चुनाब जितेपछि गंगटे पुगेको यो तेस्रो पटक हो ।“मेरो पहिलो प्राथमिकता नै गंगटे छ”,उहाँले भन्नुभयो“जसरी पनि गंगटेको जीवनस्तर उकास्न म दत्तचित्त भएर लाग्छु, यही बीचमा तीन पटक म गंगटे पुगिसकेको छु ।” गंगटेका जनताले बिशेषज्ञ स्वास्थ्य सेवा नपाएको भन्दै आफ्नो पहलमा त्यहाँ स्वास्थ्य शिविर भएको बताउनुभयो । माओवादी केन्द्र बबईको आयोजना तथा ह्वील्स्को सहयोगमा शिविर भएको हो ।

त्यहाँका सबै समस्याहरुमा आफू जानकार रहेको भन्दै समाधान गर्नतर्फ उन्मुख भएको समेत उहाँको भनाई छ । उहाँका अनुसार हापुरेदेखि गंगटे पुग्ने सडकको स्तरोन्नतीको काम भइरहेको छ । जसमा पाँच किलोमिटर सडक कालोपत्रे हुँदैछ्, भने बाँकी १७ किलोमिटर सडक स्तरोन्नतीको काम भइरहेको छ । यो बर्ष भित्र जनताका घर-घरमा विद्युत बाल्न पाउने गरि तयारी गरेको बताउनुभयो । त्यसकालािग विद्युत प्राधिकरणसंग छलफल गरेर काम अघि बढाईसकेको मन्त्री मास्कीको भनाई छ ।

त्यस्तै आफ्नो निर्वाचन क्षेत्रका विकट क्षेत्रमा टेलिकमको टावर निर्माणको प्रक्रिया पनि अघि बढिसकेका छन् । पश्चिममा ४ वटा टेलिकम टावरकालागि केहीमा निर्माणको प्रक्रिया अघि बढेका छन्, भने केही स्थानमा सर्भेको काम अघि बढेको मन्त्री मास्कीले बताउनुभयो । त्यस्तै खानेपानी, शिक्षालगायतको समस्या पनि छिट्टै समाधान हुने बताउनुभयो । पश्चिम दाङले पहिलो पटक मन्त्री पाएको भन्दै यहाँको विकासले तिब्रता लिने समेत बताउनुभयो ।