भावना साट्ने थलो‘शहीद स्मृति विद्यालय’

दाङ, २ फागुन ।
रोल्पा सुनछहारीका पर्सुराम रोका ७ महिनाको हुँदा वुवा शहीद भए । वुवा शहीद भएपछि टुहुरो भएका पर्सुरामलाई आमाले जसो–तसो गाउँमै कक्षा ८ सम्म पढाए । पर्सुरामलाई दाङको तुलसीपुर १७ बनकट्टामा रहेको शहीद स्मृति आवासिय माध्यामिक विद्यालयले द्वन्द पीडितका छोराछोरीलाई पढाउछ, भन्ने थाहा थिएन । तुलसीपुरमा रहेकी ‘अन्टी’ले विद्यालयको बारेमा थाहा पाएपछि उनी कक्षा ९ मा पढ्न आए । ‘मलाई यो विद्यालयका बारेमा थाहा थिएन,यहाँ बस्ने अन्टीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ’,उनले भने ‘मैले रोल्पाबाटै कक्षा ८ पास गरेपनि यहाँ अग्रेजी माध्याम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।’

यहाँ आएपछि वुवा, आमाको माया पाएजस्तो अनुभूति भएको उनले बताए । शिक्षकहरूलाई वुवा जस्तै, खाना पकाउने अन्टीलाई आमा,वुवा जस्तै र त्यहाँ पढ्ने विद्यार्थीहरूलाई दाजु भाई जस्तै लाग्ने गरेको उनी बताउछन् ।‘वुवा भनेको वुवा नै हो, वुवाको जस्तो माया त कहाँ पाईन्छ होला र?”, उनले भने‘तर, यहाँ पाएपछि वुवाआमाको माया पाएजस्तै भएको छ, दाजु भाईसंग भेट भएको महशुस भएको छ ।’ यहाँ सबै शहीद, बेपत्ता, घाइतेहरूका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उनले बताए । उनी त्यो विद्यालयमा कक्षा १२ मा ब्यबस्थापन शंकायमा अध्ययनरत छन् ।

त्यस्तै सोही विद्यालयमा कक्षा १२ मा अध्ययनर अञ्जना दहितले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्दपीडित अध्ययनरत विद्यार्थीहरूबीच भावना साटासाट हुने गरेको बताए ।‘पढाई त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ’,उनले भनिन्‘सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।’ कोही शहीद परिवारका छन्, कोही वेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका छन् । उनीहरूबीच कुरा हुँदा मन हल्का हुने उनले बताए । अञ्जनाले विज्ञान विषय पढिरहेकी छन् । उनका वुवा ३/४ बर्ष जनयुद्धका क्रममा जेल जीवन विताएका थिए । उनीहरू जस्तै अहिले विद्यालयमा ४ सय १८ द्वन्दपीडित आवासीय विद्यार्थीहरू अध्ययनरत छन् ।

उच्च शिक्षा पढ्ने वातावरण बनाइयोस्
द्वन्दपीडित परिवारका विद्यार्थीहरूले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनु पर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठन–पाठनको ब्यबस्था गरेको भएपनि त्यो भन्दा माथिल्लो शिक्षा पढ्न नपााउँदा धेरै द्वन्दपीडित विद्यार्थीहरू पढाई छोड्ने गरेको भन्दै त्यो भन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनु पर्ने विद्यार्थीहरूको माग छ ।‘सरकारले १२ सम्म निःशुल्क पठन–पाठनको ब्यबस्था त गरेको छ’,विद्यार्थी पर्सुराम रोकाले भने‘त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक छैनन्, हामीलाई माथिल्लो शिक्षा कस्ले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको ब्यबस्थापन गर्नुपर्छ ।’


साथै उनले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरू जस्ता शहीद परिवारहरूलाई दुःखी बनाएको बताए । माओवादी टुटफुट हुँदा शहीदका सपनाहरू अझै पूरा हुन नसकेको उनको भनाई छ ।

पूर्वाधारमा अपुग
विद्यालयमा पूर्वाधार अपुग हुँदा एउटै कोठामा १६÷१७ जना विद्यार्थीहरू राख्नु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक धनेश्वर पोख्रलले बताए । उनका अनुसार आवासकालागि १४/१४ कोठा भएका दुईवटा भवन छन् । त्यतिले मात्रै नपुग्ने उनको भनाई छ ।‘हामीसंग आवासकालागि भवनको अभाब हुँदा एउटै कोठामा १६/१७ जना विद्यार्थीहरू राख्नु पर्ने अबस्था छ’,उनले भने‘यसले निकै समस्या बनाउने गरेको छ ।’

त्यस्तै विद्यालयतर्फ १२ कोठे तीन तले भवन, तीन तले ९ कोठे भवन, ४ कोठे दुई तले भवन रहेका छन् । साथै ४ काठे २ तले भवन निर्माणको अन्तिम चरणमा छ । त्यस्तै ४ कोठाको दुई तले भवनकालागि प्रदेशले बजेट छुट्याएको भएपनि अहिले निर्माणाधीन अबस्थामा छ । विद्यार्थीहरूको शैक्षिक तथा आवासिय खर्च सरकारले ब्यहोर्दै आएको छ ।

प्राबिधिक शिक्षा पनि सुरू
विद्यालयमा शैक्षिक शत्र २०७७ देखि सिटिईभिटि अन्तर्गत ३ वर्षे सिभिल इन्जिनियरिङ पनि पढाई भइरहेको छ । साथै चालुवर्षको बजेट भाषणमा विद्यालयलाई सार्वजनिक प्राविधिक शिक्षालयको रूपमा व्यवस्थापन गर्ने कुरा उल्लेख भएपनि कार्यान्वयन नहुनु दुःखद रहेको प्रधानाध्यापक धनेश्वर पोख्रेलले बताए । हाल आवासिय रूपमा ४१८ विद्यार्थी र स्थानीय २५६ गरि जम्मा ६७४ विद्यार्थी अध्ययनत छ । १० प्रतिशत स्थानीय विद्यार्थीलाई समेट्नु पर्ने ब्यबस्था छ । साभारः अग्रिम साप्ताहिक