तुलसीपुरमा गठबन्धको चुनावी रौनक

तुलसीपुर, १८ बैशाख ।

तुलसीपुरमा गठबन्धको चुनावी रौनक बढेको छ । आइतबार तुलसीपुरको विभिन्न वडाहरुमा मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी, उपमेयर पदका उम्मेदवार जोग बहादुर राणा लगायत गठबन्धनका नेताहरूले चुनावी अभियानलाई सम्बोधन गरेका छन् । यसैबीच तुलसीपुर १ मा भएको चुनावीसभामा गठबन्धनका उम्मेदवारहरुलाई वडावासीले भव्य स्वागत गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नंं. १ को भमकेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले एमालेको प्रतिगमन र अराजक शैलीका कारण गठबन्धन गर्न बाध्य भएको बताए । जनताले एमालेको प्रवृत्ति बुझिसकेको बताउँदै उनले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु भारी मतका साथ विजयी हुनेमा ढुक्क रहेको बताए । साथै उनले तुलसीपुरको विकास र समृद्धिका लागी गठबन्धनको विकल्प नरहेको समेत बताए ।


त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै उप–मेयर पदका उम्मेदवार रानाले सडक, स्वास्थ्य, शिक्षा, सिचाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै तुलसीपुरको समग्र विकास र शुसासनका लागी अत्यधिक बहुमतले विजयी गराउन अपिल गरे ।

काङ्ग्रेस वडा सभापति निर्मल कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरी, जनमोर्चाका नेता भरत भण्डारी, पुर्व संविधानसभा सदस्य अनारकली मिया, माओवादी केन्द्रका नेता शेषुराम भण्डारी, फल्गुदत्त भण्डारी, वडा अध्यक्ष पदका उम्मेदवार हुमकान्त सापकोटा लगायतले तुलसीपुरको विकास र समृद्धिको लागी गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए ।

माओवादीका वडा कमिटी अध्यक्ष डिल्लु प्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालण काङ्ग्रेस वडा कमिटीका सचीव रेशम खरालले गरेका थिए ।