दाङको एक मतदान स्थल सारियो

दाङ
२९ वैशाख / दाङको एक मतदान स्थललाई सारिएको छ । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनको दिन पानी पर्न सक्ने मौसमविदहरुले जानकारी गराएकाले त्यसलाई मध्येनजर गरि तुलसीपुर उपमहानगरपालिका वडा नं.५ स्थित अरणीको मैदानको मतदान स्थललाई नजिकैको एक विद्यालयमा सारिएको हो ।

पानी परेमा मतदान कार्य नै प्रभाबित हुने भएपछि तुलसी बोर्डिङ स्कुलमा सारिएको मतदान अधिकृत माया आचार्यले बताईन् । उनका अनुसार दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहित राजनीतिक दलका प्रतिनिधिहरुको सहमतिमा उक्त मतदान स्थल सारिएको हो । सोही मतदान स्थलमा ६ वटा मतदान केन्द्र रहेका छन् ।

दाङमा पानी सबै भन्दा असुरक्षित क्षेत्र अरणीको मैदान नै भएकाले त्यहाँको मतदान स्थललाई सारिएको उनको भनाई छ । दाङमा १५३ मतदान केन्द्र रहेका छन्, भने ४६१ मतदान स्थल रहेका छन् । ति सबै मतदान केन्द्रहरुमा कर्मचारी पुगिसकेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।


उनका अनुसार कर्मचारी पुगेर मतदान केन्द्रको शान्ति सुरक्षा सुरक्षा मजवुद बनाएर भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार पार्ने कार्य भइरहेको उनले बताए । दाङमा २५ सय भन्दा बढि कर्मचारी र ३ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै दाङ भारतीय सीमाना पनि जोडिएकाले सीमा क्षेत्र समेत सिल गरिएको छ ।

जिल्लामा पुरुष मतदाताको संख्या दुई लाख आठ सय एक र महिला मतदाताको संख्या दुई लाख नौं हजार ९९ जना रहेका छन् । कुल मतदाता संख्या चार लाख ९९ हजार दुई जना रहेको छ ।