अन्य पदाधिकारी तथा सदस्य भन्छन् :‘तुलसीपुर खानेपानीका अध्यक्षले दिएको राजीनामा बारे हामीलाइ जानकारी छैन

तुलसीपुर
९ भदौ / तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वलीले केही दिन अघि पत्रकार सम्मेलन गरि कार्यसमिति नै भंग भएको घोषणा गरेपनि कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले भने आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन् ।

बुधबार कार्यसमितिका उपाध्यक्ष,सचिब, कोषाध्यक्षसहित अन्य सबै सदस्यहरुले सूचना जारी गरि यस्तो बताएका हुन् ।‘अध्यक्षद्वारा एकल पत्रकार सम्मेलन गरि राजीनामा घोषणा गरेको तर यस संस्थामा आज सम्म कुनै पनि आधिकारीक पत्र आईनपुगेको छैन’, सूचनामा भनिएको छ ।

कार्यसमितिका उपाध्यक्ष गिरीधारी प्रसाद पौडेल, सचिब मनोज लामिछाने, कोषाध्यक्ष सिताराम शर्मालगायत अन्य पाँच जना सदस्यले हस्ताक्षर गरि संयुक्त सूचना जारी गरेका हुन् । अध्यक्ष वलीले काम गर्ने वातावरण पनि नभएको र पछिल्लो कार्यसमितिको अबधी सकिएको पनि १७ महिना भएकाले नैतिकताका हिसाबले राजीनामा दिएको र संस्थाको कार्य समिति नै भंग भएको घोषणा गरेका थिए ।


तुलसीपुर खानेपानी पछिल्लो समय विवादमा तानिएको छ । खानेपानीमा हिनामिना भएको भन्दै अदालत र अख्तियारमा उजुरी परेपछि नयाँ कार्यसमितिकालागि तोकिएको निर्वाचन समेत रोकिएको छ ।