बुटवल, २७ पुस ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम गिरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
उनलाई एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बहुमत सांसदको समर्थन प्राप्त भएको छ । प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन कम्तीमा ४४ सांसद आवश्यक पर्छ । सभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चार तथा जसपा र जनमतका तीन–तीन सांसद छन् ।
यस्तै, कांग्रेसका २७, लोसपाका तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई स्वतन्त्र सांसद छन् ।
लाइभदाङ । २७ पुष २०७९, बुधबार १४:४० बजे