
घोराही, ९ जेष्ठ ।
ओली वंश समन्वय समिति दाङले विभिन्न संस्थामा हालै निर्वाचित तथा चयन भएका आफ्ना वंशका पदाधिकारीलाई स्वागत, बधाई तथा सम्मान गरेको छ। समितिले एक विशेष कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो। समितिका अनुसार घोराहीस्थित राप्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा निर्वाचित भएका ओली वंश समन्वय समितिका सल्लाहकार प्राध्यापक डाक्टर बिन बहादुर सिंह ओली, घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कोषाध्यक्ष पदमा निर्वाचित टिकाराम ओली, सोही समितिको सदस्य पदमा निर्वाचित चुर्णबहादुर ओली तथा राधाकृष्ण तथा शिवपार्वती मन्दिरको सचिव पदमा चयन भएका कमल ओली लगायतलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो।
ओली वंश समन्वय समिति दाङका अध्यक्ष रेख बहादुर वलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न सामाजिक, सहकारी तथा धार्मिक संस्थाहरूमा ओली वंशका प्रतिनिधिहरू महत्वपूर्ण जिम्मेवारीमा पुग्नु गौरवको विषय भएको बताएका थिए। उनीहरूले नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो जिम्मेवारी इमान्दारिता, पारदर्शिता र जनउत्तरदायी ढंगले पूरा गर्दै संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा समितिका उपाध्यक्ष कमल ओलीले स्वागत मन्तव्य राख्दै विभिन्न क्षेत्रमा ओली वंशका व्यक्तिहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले नयाँ जिम्मेवारीमा पुगेका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाज र संस्थाको हितमा अझ प्रभावकारी ढंगले काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्मानित व्यक्तिहरूमध्ये राप्ती बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा निर्वाचित तथा ओली वंश समन्वय समितिका सल्लाहकार प्राध्यापक डाक्टर बिन बहादुर सिंह ओलीले मन्तव्य राख्दै आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सहकारी संस्थालाई अझ पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै समाजसेवामा आफू निरन्तर सक्रिय रहने बताउनुभयो। उहाँले ओली वंश समन्वय समिति दाङले गरेको स्वागत तथा सम्मानले थप जिम्मेवारीको अनुभूति गराएको उल्लेख गर्दै यस्तो सम्मानले सामाजिक एकता, आपसी सद्भाव र हौसला अभिवृद्धि गर्ने धारणा राख्नुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले सम्मानित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। उनीहरूले विभिन्न संघसंस्थामा पुगेका प्रतिनिधिहरूले समुदायको हित, संस्थागत सुशासन तथा विकासका लागि उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे। समितिका सचिव दीपक ओलीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रम उपाध्यक्ष कमल ओलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो।



लाइभदाङ । ९ जेष्ठ २०८३, शनिबार २१:१८ बजे