झुपडीको मायाः जसले नयाँ घर बनाउन मान्दैनन्

तुलसीपुर,१९ मंसिर ।
खोला छेउमै देखिने कहालीलाग्दो झुपडी । वरिपरि काठले बारिएको छ । त्यो पनि ठूला–ठूला छिद्रा परेको । भित्र के छ? बाहिरबाट हेर्दा सबै देखिन्छ । हिउदयाम सुरु भयो । कुनै अबरोध भित्र सिरेटो छिर्छ । तर, राप्ती गाउँपालिका ५ भुल्केखोला निवासी ७८ बर्षीय बालाराम घर्तीले त्यस्ता सिरेटो खप्न थालेको बर्षौ भयो । उहाँ त्यस्ता सिरोटो खप्ने वानी नै परिसक्नु भएको छ ।“ २०६३ सालमा बाढी आएर घर बगायो, अहिले म बसेको ठाउँमा गोठ थियो”,उहाँले भन्नुभयो“त्यही गोठलाई जग उठाएर म बस्ने छाप्रो घर बनाएको हुँ ।”

त्यो छाप्रोमा १६ बर्ष विताईसकेकाले होला नयाँ घर बनाईदिने भनि राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट त्यहाँ पुग्दा पनि उहाँले अस्वीकार गर्नुभयो । गाउँपालिका अध्यक्षले भन्नुभयो“वुवा तपाई यस्तो छाप्रोमा बस्नु भएको रहेछ, हामी अब टिन हालेर नयाँ घर बनाईदिन्छौं ।” तर, घर्तीले त्यसलाई स्वीकार्नु भएन् । “पहिल्यै देखि यही छाप्रोमा बसेँ वावु, भयो अब दुःख गर्नु पर्दैन्” उहाँले अध्यक्षलाई जवाफ फर्काउनु भयो“ उमेर पनि धेरै भयो, अब धेरै धुलधाम नगर्ने हजुर, पानी नचुहिने ओभानो ठाउँ चाहियो, अब राम्रो घर किन चाहियो र?”

जस्तापताकालागि निवेदन दिएको भन्दै जस्ता आएपछि छाना बनाउने उहाँले बताउनुभयो । तर, पक्की घर बनाउन आबश्यक नपर्ने उहाँले बताउनुभयो । “हजुरहरु केही चिन्ता नगर्नुहोला । गुजारा भइत राछ, क्यारे । टिन मिलेछ भने गर्नुपर्ला”,उहाँले भन्नुभयो“झनझट छ । भताभिंग हुन्छ । भत्काउने हो भने बर्बाद हुन्छ हजुर । मलाई यही राम्रो छ ।”


उहाँका दुई छोरा हुनुहन्छ । तर, दबै छोरा छुट्टै बस्नु हुन्छ । कहिले काही जेठा छोराकोमा गएर बस्ने गरेको भएपनि प्रायः त्यही छाप्रोमा उहाँको बास हुन्छ । त्यो छाप्रोलाई पनि उहाँले दुई तले बनाउनु भएको छ । तल खाना पकाउने र माथि सुत्ने बनाउनु भएको छ । उहाँकी श्रीमति वितेको पनि धेरै बर्ष भयो । उहाँ अहिले त्यही छाप्रोमा एक्लै जीवन विताउनु भएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भने यो घरमा टिन उपलब्ध गराउने बताउनुभयो । उहाँले अहिले त्यो घरबाट भित्र हावा छिर्ने र छिद्रा–छिद्रा परेकाले त्यसलाई पनि टालटुल पारिदिने बताउनुभयो ।“वास पनि आधारभूत कुरा हो”,उहाँले भन्नुभयो“हाम्रो पालिका भित्रका कोही पनि नागरिक झुप्रोमा वास बस्नु पर्ने अबस्था अन्त्य हुनुपर्छ, हामी त्यो अभियानमै छौं ।” साभार : अग्रिम साप्ताहिक