दाङ–२ : मतान्तर बढाउँदै रेखा, १८ सय मतले शंकर पछि

दीपक बोहरा
दाङ, ६ मंसिर ।
दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले आफ्नो मतान्तर बढाएकी छन् । २० हजार ६ सय ७८ मत गणना हुँदा रेखाले ८ हजार ६ सय १६ मत प्राप्त गरेकी छन्, भने एमाले महासचिब शंकर पोखरेलले ६ हजार ८ सय ८ मत प्राप्त गरेका छन् ।

उनीहरुबीचको मतान्तर एक हजार आठ सय ८ रहेको छ । रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।


दाङ २(१) मा खनाल अगाडी
दाङ क्षेत्र नं. २ को प्रदेसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडी छन् । खनाल निकटतम प्रतिस्पर्धी एमालेका बलिभद्र राणा भन्दा एकहजार ५१ मतले अघि छन् । खनालले पाँच हजार ९ सय ८४ मत प्राप्त गरेका छन्, भने राणाले ४ हजार ९ सय ३३ मत प्राप्त गरेका छन् । दाङ क्षेत्र नं.२ को प्रदेशसभा २ मा भने केही बेर अघि मात्रै मतगणना सुरु भएको छ ।