मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

मुस्ताङ, ५ मंसिर ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ। हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो।

मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन विजयी भएका हुन्।

मुस्ताङमा सात हजार २३० मत खसेको थियो। मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका गौचन कांग्रेस मुस्ताङ सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन्।

उनले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेस म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन्। गौचन राजनीतिसँगै कृषि, पर्यटनतर्फ होटेल तथा टुर्स एन्ड ट्राभल्समा जोडिएका छन्। उनको मुस्ताङ लेतेमा कालापानी गेष्ट हाउस सञ्चालनमा छ । यस्तै, पोखरामा त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स प्रालि र मुस्ताङमा अर्गानिक फार्म किवी खेती गरिरहेका छन्।


सानै उमेरमा कांग्रेसको राजनीतिमा सक्रिय गौचनले जिल्लामा नेविसंघको राजनीति सुरु गरेका थिए । कांग्रेस महासमिति सदस्य समेत रहेका गौचन गण्डकी प्रदेश कार्यसमितिमा समेत छन्।

उनका बुबा रोमी गौचन २०७० मा मुस्ताङबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि प्रचण्डनेतृत्वको सरकारमा वाणिज्यमन्त्री समेत भएका थिए।