संस्कृत विश्वविद्यालयमा तालाबन्दी

दाङ, १ चैत ।
नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत र अनेरास्ववियु विश्वविद्यालय विद्यापीठका अध्यक्ष राधाकृष्ण सुवेदीले निर्वाचन प्रक्रिया तत्काल स्थगन गरी आवश्यक छानविनसहित वास्तविक मतदाता नामावली प्रकाशन गर्न माग गरेका छन् ।

उनीरूले माग बेवास्ता गरी अघि बढे आन्दोलन चर्काउने र त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवारी निर्वाचन समिति र क्याम्पस प्रशासन हुने समेत बताएका छन् ।

यसैबीच घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (एस) बीच चुनावी तालमेल हुने भएको छ ।


दुई संगठनका जिल्ला नेतृत्वबीच महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेर जाने सहमति भएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले जानकारी दिनुभयो ।

नेविसंघका अध्यक्ष पोख्रेल र अनेरास्ववियू (एस) का कार्यवाहक अध्यक्ष खिमा घर्तीले संयुक्त विज्ञप्ति जारी गर्दै दुुई संगठनको चुनावी तालमेल भएको र दुई संगठनको गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गरेका छन् ।

यो क्याम्पसमा गठबन्धनका तर्फबाट नेविसंघका मनोज डिसी स्ववियु सभापतिको उम्मेदवार छन् ।