गुल्मीको अर्बेनीमा मतदान स्थगित, पुनः मतदान गरिने

गुल्मी, ४ मंसिर ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी– १ को एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश पौडेलले बताए । उक्त मतदान केन्द्रमा कहिले मतदान गर्ने भन्ने बारेमा छलफल भइरहेको पौडेलले बताए ।

निर्वाचन गर्ने विषयमा निर्वाचन आयोगको निर्देशन अनुसार अगाडि बढिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए ।


यो केन्द्रबाहेक जिल्लाका अन्य मतदान केन्द्रको मतदान सकेर जिल्ला सदरमुकाम तम्घासमा मतपेटिका ल्याउने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गुल्मी जिल्लाको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमति पश्चात मतदान पुनः सुरु भएको थियो ।

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । निर्वाचनको लागि २ हजार ५ सय बढी सुरक्षाकर्मी र २ हजार बढी कर्मचारी परिचालन गरिएको छ । जिल्लामा २ प्रतिनिधि सभा र ४ प्रदेश सभामा ६ जना निर्वाचित जनप्रतिनिधिका लागि ६० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।