दाङमा कुन नेताले कहाँबाट मतदान गरे

दीपक बोहरा
दाङ ४ मंसिर ।
दाङमा केन्द्रमा प्रभाव पार्ने नेताहरुले आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । एमालेका महासचिव तथा दाङ क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले तुलसीपुर १९ को जनता विद्यापिठ मतदान स्थलबाट मतदान गरका छन्, भने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा गठबन्धनका दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्माले घोराही १८ स्थित आधारभूत विद्यालय मसिनाबाट मतदान गरेकी छन् ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तुलसीपुर १७ दिपेन्द्र मावी मानपुरबाट, दाङ क्षेत्र नं।३ को गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले दंगीशरण गाउँपालिका वडा नं. ४ स्थित रात्री मावि बैबाङ, एमालेका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कोमल वलीले तुलसीपुर ८ कृष्णमन्दिरबाट मतदान गरेकी छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले तुलसीपुर १२ स्थित पशुपति मावि हरीपौराबाट, दाङ क्षेत्र नं. १ का गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणी चौधरीले मावि गढवाबाट, दाङ क्षेत्र नं. १ बाट एमालेतर्फका उम्मेदवार शान्ता चौधरीले घोराही ४ स्थित डाँडागाउँ स्कुलबाट मतदान गरेका छन् ।
त्यस्तै स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले तुुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित तुलसी आवासीय माविबाट, पूर्व सांसद तथा दाङ क्षेत्र नं. १ का उम्मेदवार गंगा चौधरीले सरस्वति आधारभूत विद्यालय छोड्की सिसहनियाबाट मतदान गरेकी छन् ।


दाङका १५३ वटा मतदान स्थल र ४६५ मतदान केन्द्र रहेका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जना कर्मचारी खटिएका छन् । दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरि ३ हजार ७ सय २० जना कर्मचारी खटाईको हो । साथै मतदान केन्द्रको सुरक्षा ब्यबस्था पनि कडा बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आबश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरि तयारी गरिएको छ । जिल्लाका मतदान स्थलहरुमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाईएको छ । साथै आबश्यक परेको खण्डमा नेपाली सेना समेत परिचालन गर्ने तयारी गरिएको छ । अहिले ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा प्रतिनिधिसभाकालागि ३३ जना उम्मेदवार छन्, भने प्रदेशसभाकालागि ४३ उम्मेदवार छन् । जिल्लामा ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेका छन् । त्यस्तै जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको छ ।

दाङका १२ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको छ । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ ।