बुवा आमाको सम्झना छोरा-बुहारीद्धारा अक्षयकोष स्थापना

दाङ, २८ कात्तिक ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ उमेशमार्ग निवासी गणेश श्रेष्ठ र रजनी श्रेष्ठले बुवाआमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं.१५ रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर (काठेकोहल) मा ५१ हजार १ सय ५५ रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरी अक्षयकोष दाताका तर्फबाट रजनि श्रेष्ठले विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेललाई अक्षयकोष रकमको चेक हस्तान्तरण गर्नु भएको थियो ।

स्वर्गीय सुसुराबुवा सन्तप्रसाद श्रेष्ठ र सासु आमा शान्ता श्रेष्ठको सम्झनामा स्थापित “सन्त—शान्तिा” अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयमा अध्ययनरत अभिभावक बिहिन गरिव जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गरिने रजनी श्रेष्ठले बताउनुभयो । अभिभावक बिहिन छात्राहरु पढाईबाट बिमुख हुन नपरोस भनेर आफूहरुले विद्यालयमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो ।


कोभिड-१९ का कारण २०७८ साल जेष्ठ २३ गते सन्तप्रसाद श्रेष्ठको र सोही बर्ष आषाढ १ गते शान्ता श्रेष्ठको स्वर्गारोहण भएको थियो । गरिव तथा जेहेन्दार विद्यार्थीलाई सहयोग हुने गरी विद्यालयमा अक्षयकोष स्थापना गरिएकोप्रति दाताहरुलाई विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो ।