जहाँ मास्की, त्यहाँ सफलता

दीपक बोहरा
धनबहादुर मास्की(राजेश), जनयुद्धको चर्चित नाम हो । ‘जहाँ राजेश पुग्छ, त्यहाँ सफल’ हुन्छ, भन्ने एउटा छाप छोड्न, राजेश सफल थिए । र त, उनी सधै नेतृत्वमै रहे । मुलुक परिवर्तनकालागि गरेको १० बर्षे जनयुद्ध तथा जनआन्दोलनलाई सफल पार्न उनको भूमिका महत्वपूर्ण रह्यो ।

उनी जनयुद्धको सुरूवात देखि नै माओवादी आन्दोलनमा सक्रिय भए । सुरूवातमा विद्यार्थी राजनीति हँदै सुरू गरेका मास्की २०५२ सालदेखि सुरू भएको जनयुद्धमा पूर्णकालिन भए । त्यतिबेलादेखि पार्टीको सदस्यता लिएर राजनीति सुरू गरेका उनी छोटो–छाटो समयमा प्रगति गर्ने नेता हुन् ।‘म जुन काममा हात हाल्छु, त्यसलाई सफलता नपु¥याउँदासम्म दत्तचित्त भएर लागि रहन्छु, यो मेरो सानै देखिको बिशेषता हो’मास्कीले भने‘त्यही बिशेषताले होला, मैले जुन क्षेत्रको जिम्मेवारी लिन्थे, सफलता हात पारेरै छोड्थेँ ।’

मुलुकको परिवर्तनका क्रममा भएको जनयुद्धमा उनी लामो समय सेनाको कमाण्डरकै भूमिकामा रहे । सुरूवातमा लडाकु दलबाट प्रवेश गरेका उनी स्क्वाईट कमाण्डर, स्पेशल टास्क फोर्सको सेक्सन कमाण्डर भए । त्यसपछि प्लाटुन गठन भयो, त्यसको उनी जाजरकोटको पलाटुन कमाण्डर भए । त्यसपछि क्षेत्रीय उपब्यूरोको भूमिमका प्लाटुन कमाण्डर भए ।

त्यसको ६ महिना पछि पार्टीले कम्पनी गठन ग¥यो,कम्पनीको पनि उनी कमाण्डर भए  । त्यसको केही समयपछि घोराहीको आर्मी ब्यारेक कब्जा गरियो । आर्मी ब्यारेक कब्जा गरेको त्यो पहिलो इतिहास थियो । घोराहीमा आर्मी ब्यारेक कब्जा गर्न उनले देखाएको दख्खलतापछि पार्टीले बटालिएन कमाण्डरमा बढुवा ग¥यो । २०५८ मा उनी बटालिएन कमाण्डर भएका हुन् । त्यसपछि उनी २०५९ सालमा ९३ जनाको पार्टीको केन्द्रीय कमिटिमा उनी केन्द्रीय सदस्य बनेका थिए ।

केही समयपछि जनमुक्ती सेनाको विर्गेट गठन भयो । विर्गेट गठन पछि पनि उनी पूर्वी विग्रेट कमाण्डर भए । २०६० तिर ३ वटा डिभिजन गठन भएका थिए । त्यो डिभिजनको पनि उनी कमाण्डर भए । उनको कार्यकिशुलता, सक्षमताले उनी सधै कमाण्डर नै भए । शान्ति प्रक्रिया पछि उनले स्वैच्छिक अबकास लिए । २०६३ मै उनी पार्टीको पोलिटब्यूरो सदस्य बने । अहिले पनि उनी पार्टीको पोलिट्ब्यूरो सदस्य छन् ।

सधै सफल मास्की
जनयुद्धको सुरूवातिमा माओवादीसंग हतियार थिएनन् । हरेक युद्धमा बन्दुक चाहिन्छ । त्यपछि मास्केकै नेतृत्वमा हतियार व्यवस्थापन भएको थियो । झिम्पे, झेल्नेटा,दाङ लगायतका विभिन्न स्थानमा उनकै नेतृत्वमा कारबाही भएको थियो । ति कारबाहीबाट आवश्यक हतियार व्यवस्थापन भएको थियो । हतियार व्यवस्थापन भएपछि त्यसपछिका कारबाहीहरू सहज भएका थिए । जनयुद्धको सबै भन्दा ठूलो कारबाही डोल्पाको दुनै कारबाही पनि मास्की कै नेतृत्वमा भएको थियो । उनकै नेतृत्वमा घोराहीको आर्मी ब्यारेक कब्जा भयो । पूर्वमा युद्धको प्रभाव थिएन । त्यसपछि मास्कीलाई पूर्वमा कमाण्डका लागि पठाइयो । पूर्वको सदरमुकाम कब्जा पछि उनको उचाई थप चुलिएको थियो । त्यसले पूर्वी क्षेत्रको आन्दोलनमा विकास भएको थियो ।

२०६२ तिर सर्लाहीमा हेलिकप्टर हान्दा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले समेत फोन मार्फत शुभकामना दिएपछि थप हौसला र खुसी प्रदान भएको मास्की बताउछन् । यस्तो त्याग र तपस्या गरेर मुलुकलाई नयाँ दिशामा लिइसकेपछि पार्टी फुट्दा भने आफूलाई दुःख लागेको मास्की बताउछन् ।‘हामीले निकै लामो संघर्ष र त्याग पछि व्यवस्था परिवर्तन गर्न सक्यौं’,उनले भने‘यस्तो त्याग र बलिदानीबाट जन्मिएको पार्टी फुट्दा म दुःखी भएको थिएँ ।’ जुन बर्ग र हितकालागि लडेर हामी आयौं, त्यो पार्टी अब एकजुटु हुनुपर्नेमा उनको जोड छ ।


जनवादी विवाहः १३ महिनाकी छोरी घरमा छोडर आन्दोलनमा
उनको जनयुद्धकै क्रममा विहे भयो । २०३१ सालमा जन्मिएका मास्की २०÷२१ बर्षमै पार्टीको पूर्णकालिन भइसकेका थिए । युद्धकै क्रममा २०५६ सालमा उनको जनवादी विवाह भयो । उनीहरू दुबै जना पार्टीमा पूर्णकालिन थिए । त्यसैले १३ महिनाको छोरीलाई घरमा आमाबुबासंग छोडेर उनीहरू युद्धमा गएका थिए ।

सधै सफल भएका मास्कीले अब दाङ विकास गर्ने योजना
मुलुक परिवर्तनकालागि भएको युद्धमा सधै सफल मास्कीले, अब दाङको विकासको जिम्मेवारी सफलताका साथ पूरा गर्ने प्रतिबद्धता जनाए ।‘मैले जीवनमा जनताकै मुक्तीकालागि लडेँ, ज्यू ज्यानको माया नगरे लड्दा नै मेरो नेतृत्व सफल भएँ र छोटो समयमै मैले गरेको उपलब्धी पार्टीले मूल्यांकन गरेर मलाई स्तरबृद्धि ग¥यो’, उनले भने‘अब म दाङको विकासकालागि जिम्मेवारी दिएर पार्टीले पठाएको छ, यो जिम्मेवारी पनि उत्कृष्टताकासथ सम्पन्न गर्नेछु ।’ हाल उनी दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ बाट उम्मेदवार छन् ।

उनले पहिलो कामका रूपमा गहतेदेखि च्याटीखोला हंसपुरसम्मको सडक स्तरबृद्धि गर्ने लिएका छन् । आफू जितेपछिको पहिलो निर्णय नै यसैलाई लिने उनको योजना छ । त्यस्तै दामोदर मार्गको स्तरोन्नती गर्ने, राजी खरे र ट्वाङखोलामा पुल बनाउने उनको योजना छ । बबई, गंगटे हुँदै कोहलपुर जोड्ने सडक स्तरबृद्धि गर्ने, दक्षिण क्षेत्रमा डिप बोरिङ र उत्तरतर्फ ड्याम्प निर्माण गरेर सिंचाई सेवा पु¥याउने उनको योजना छ ।

उनले टुक्रे उत्पादन प्रणालीलाई अन्त्य गरि चक्लाबन्दी, आधुनिक कृषि प्रणाली अपनाउने योजना अघि सारेका छन् । त्यस्तै कृषि ऋणको व्यवस्थापन गर्ने, दुघ्द क्षेत्रको केन्द्र बनाई बजारीकरण गर्ने, दुधबाट छुप्रिलगायतका परिकार बनाएर बजारीकरण गर्ने, कृषकको मलको अभावलाई सहजीकरण गर्ने उनको योजना छ ।

त्यस्तै टिक्ने, विक्ने र सिक्ने शिक्षाको विकास गर्ने नीति बनाउने, प्राविधिक धारको शिक्षालाई जोड दिने, साबिक राप्तीलाई केन्द्रविन्दु बनाएर तुलसीपुरमा मेडिकल कलेज स्थापना गर्ने उनको लक्ष्य छ । अहिले गाउँ–गाउँमा रहेको स्वास्थ्य संस्थाहरूलाई स्तरबृद्धि गर्ने, स्वास्थ्यकर्मीको ब्यबस्थापन गर्ने, एक वडा–एक स्वास्थ्य चौकी निर्माण गर्ने उनको योजना छ ।

त्यस्तै पुरन्धारा, सुन्धरादेवी मन्दिर, दंगीशरण राजाको सुकौराकोट लगायतलाई पर्यटकीय स्थलका रूपमा थप विकास गर्ने तथा मगर संग्राहलय निर्माण, एक वडा एक खेलकूद मैदान, आफ्नो निर्वाचन क्षेत्रभित्र व्यवस्थित प्रदेश स्तरको रंगशाला निर्माण गर्ने योजना छ । त्यस्तै महिलाहरूलाई आत्मनिर्भर बनाउन स्वरोजगारमुलक तालिमको व्यवस्थापन गर्ने, पढ्दै कमाउँदै गर्ने योजना अघि सार्ने उनको नीति छ । साभारः अग्रिम साप्ताहिक