बालबालिका हराउछन्, भेटिदैनन्

तुलसीपुर, २ असोज ।
दाङमा गएको आर्थिक बर्ष ०७८/०७९ मा ८३ बालक हराए । त्यसमा ७३ बालक फेला परेका भने, अन्य १० जना बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आर्थिक बर्षमा एकसय ५८ बालिका हराए, भने एकसय ४१ फेला परे । ति मध्ये १६ बालिका अझै फेला पर्न सकेका छैनन् ।

त्यस्तै चालु आर्थिक बर्षको साउन र भदौको तेस्रो हप्तामा २० जना बालक हराए । त्यसमा १५ जना फेला परे, भने ५ जना अझै पनि फेला पर्न सकेका छैनन । त्यस्तै २५ बालिका हराएकोमा १७ जना फेला परेका छन्, भने ८ जना अझै फेला पर्न सकेका छैनन् ।

जिल्लामा कुनै गिरोह सक्रिय भएर बच्चाबच्ची ओसार पसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताउनुभयो । कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तीका घरमा जाने भनेर सम्पर्कमा नआउने जस्ता कारणले बालक हराउने गरेको उहाँको भनाई थियो । एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेटाउन समस्या सहने गरेको उहाँले बताए ।


त्यस्तै बालिकाहरुमा पनि विहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनि उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । हराएका मान्छेहरु भेटिएपनि आफन्तले खबर नगर्दा पनि हराएकाहरु नभेटिएको तथ्यांकमा नआउने गरेको उहाँको भनाई छ ।

महिला र जेष्ठ नागरिक पनि हराउछन्
दाङमा गएको आर्थिक बर्षमा तीनसय ५३ महिला हराएका छन्, भने तीनसय ६ जना फेला परेका छन् । ४७ जना महिला अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आर्थिक बर्षको साउन र भदौमा ६० जना महिला हराएकामो ३५ जना भेटिएका छन्, भने २५ जना अझै फेला पर्न सकेका छैनन् ।