तुलसीपुरमा मृत भेटिएका दाजुभाइलाई आफन्तको जिम्मा लगाईयो

दाङ,५ मंसिर । दाङको तुलसीपुरमा मृत भेटिएका दाजुभाइको शव आफन्तले बुझेका छन् । मंगलबार पोष्टमार्टम भएपछि उनीहरुको शवलाई प्रहरीले आफन्तलाई बुझाएको हो । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहरमा भाडामा बस्दै आएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेनाका ३४ बर्षीय पूणर्बहादुर बस्नेत र उहाँका सहोदर भाई ३० बर्षीय टेकबहादुर बस्नेत घर भित्र मृत फेला परेका थिए ।

तर, टेकबहादुरकी श्रीमति रोल्पा स्थित माइतीबाट फर्केपछि मात्रै शव निकाल्न भनेपछि मंगलबार विहान शव निकालेर पोष्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले बताउनुभयो । उनीहरु दुई भाई एउटै कोठामा मृत अबस्थामा भेटिएका थिए । कान्छो भाई टेकबहादुर भदौमा मात्रै बिदेशबाट घर फर्किएका थिए भने उनका दाजु साँईला पूणर्बहादुर दशैं मलाउन भारतबाट आएका थिए ।


टेकबहादुरको परिवार र छोरा तुलसीपुरको गाइडहरमा बिगत एक बर्षदेखि कोठा भाडामा बस्दै आएका थिए । पोष्टमार्टम रिपोर्ट भने आएको छैन । उक्त रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढ्ने प्रहरीले बताएका छ । प्रहरीका अनुसार कोठामा किटनाशक बिषादीको खोल फेला परेको छ ।