बिहेमा जाँदा बगेका तीनै जना दिदी बहिनिको शब फेला

दाङ,८ चैत ।
रुकुम पश्चिममा आफन्तको बिहेमा जान हिडेका तीनै जना दिदी बहिनीको शब फेला परेको छ । जो फागुन २५ गते बेलुकी पख संगै सानी भेरी नदी तर्ने क्रममा बगेका थिए ।

आइतबार दिउँसो २ बजेतिर बेपत्ता मध्य १३ बर्षीया सपना वलीको शब १४ दिनपछि भेरी नदी किनारमा फेला परे संगै संगै बगेका तीनै जना दिदी बहिनीको मृत्यु भएको पुष्टि भएको हो ।
बाँफिकोट गाउँपालिका – ३ गरालागोठकी सपनाको शब मुसीकोट नगरपालिका – १३ छिवाङ नजिकै सानीभेरी नदी किनारको बीच टापुमा आधा शरिर पानीमा डुबेको अवस्थामा फेला परेको थियो । बुवा पूर्णबहादुर वलीले छोरी सपनाको शवको सनाखद गरेका थिए ।


यसअघि फागुन २६ गते बिहान बाँफिकोट –३ भाग्ले नजिकै सानीभेरी नदीमा १४ वर्षीया दिदी कल्पना वली र उनकी १२ वर्षीया बहिनी उर्मिलाको शव फेला परेको थियो । करिब पाँच सय मिटरको दुरीमा उनीहरुको शब फेला परेको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले बताएका थिए ।

कल्पना र उर्मिला निराजन वलीका छोरीहरु हुन । पूर्णबहादुर र निराजन सहोदर दाजु भाइ हुन । पूर्णबहादुर माइला र निराजन साँइला हुन । उर्मिला र सपना मुसिकोट नगरपालिका–१ को त्रिपुरा माविका कक्षा ६ मा अध्ययरत थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा अध्ययनरत थिए । दुई दाजु भाइका तीन छोरीहरु फागुन २५ गते मुसीकोट नगरपालिका–१ भलखोलागाउँमा आफन्तको विहेमा जाने क्रममा नदी तर्दा बगेर बेपत्ता भएका थिए ।