संघीयता कार्यान्वयनमा कर्मचारीको भूमिका महत्वपूर्ण : नगरप्रमुख खड्का

तुलसीपुर, २२ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले संघीयता कार्यान्वयनका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । १९ औ निजामती कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले तीन वटै सरकारका निकायमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुको भूमिका एउटै हुने भएकाले स्थानीय तहमा कार्यरत कर्मचारीहरुले मनोबल घटाउन नहुने बताउनुभयो ।

उहाँले जनप्रतिनिधिलाई सफल बनाउनका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुने र त्यसबाट जनताले प्रत्यक्ष फाइदा पाउने भएकाले कार्यसम्पादनमा जुटन आग्रह गर्नुभयो । कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले पालिकाबाट हुने कार्य सम्पादनलाई छिटो छरितो भए मात्रै कर्मचारीहरुबाट जनताले सहजता पाउने बताउनुभयो ।


कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु आचार्यले निजामती कर्मचारी दिवसका अवसरमा सम्पूर्ण कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो । स्वास्थ्य जनप्रवर्धन शाखा निमित्त प्रमुख विमल केसीले डेंगु रोगबाट बच्ने उपायका बारेमा जानकारी गराउनुभएको थियो ।