दाङ, १२ कात्तिक । दाङमा ८ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरी हिरासतमै मृत फेला परेका छन् ।
दाङको २९ नम्बर ज्वालामाई गणमा कार्यरत रहेका सहायक हवलदार रेवन पचभैया हिरासतमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाले बताए ।
विहान ५ बजेतिर शौचालयमा झुण्डिएको अबस्थामा पचभैया मगर फेला परेका थिए । उनको बयान लिइसकिएको प्रहरीले बताएको छ । बालिका बलात्कारको आरोपमा दुईजना सुरक्षाकर्मीलाई ८ कात्तिकमा पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा अर्का सहायक हवलदार भरत रोका रहेका छन् ।
उनीहरुलाई वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा राखिएको थियो । २४ असोजमा भालुवाङ पुलचोक बजारमा डेरा गरि बस्ने ८ बर्षीया र अर्की १४ बर्षीया बालिका पिङ खेल्न गएका थिए । त्यस क्रममा ८ बर्षीया बालिकामाथि बलात्कार भएको थियो ।
बलात्कार पछि पीडितले उनीहरुको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो ।
लाइभदाङ । १२ कार्तिक २०८१, सोमबार १०:१२ बजे