दीपक बोहरा
दाङ, १७ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ स्थित खौसापुर आधारभूत विद्यालयको जस्तापाता खरिदमा बदमासी भएको पाईएको छ । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको ३ लाख ५७ हजार बजेटले जस्तापाता खरिद, पेन्ट तथा पलस्टर गर्ने योजना थियो । सोही अनुसार आर्थिक बर्ष सकिनै लाग्दा असारको दोस्रोत सातादेखि काममा तदारुकता देखाउँदै विद्यालय ब्यबस्थापन समितिकै अध्यक्षतामा निर्माण समिति बनाएर काम थालियो । त्यसरी थालिएको काममा विवादै विवाद देखियो ।
निर्माण समितिका कोषाध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका सदस्य बामदेव केसीका अनुसार त्यहाँ जस्तापाता खरिदमा निकै घोटाला भएको पाईयो ।‘बहुमतका नाममा मलाई कुनै पनि जानकारी नदिएर जस्तापाता खरिद गर्ने काम भयो’,उनले भने‘त्यसमा पनि खरिद गर्दा विल एउटा छ, भुक्तानी दिदा निर्णय गरेरै धेरै दिईएको छ ।’विद्यालयकालागि ३४ एमएमको निलो जस्तापाता खरिद गरिएको हो ।
घोराहीको खरेल इन्टरप्राइजेजबाट जगदम्वा कम्पनीका १० फुटको निलो रंगका ८४ वटा र ९ फुटका ३२ वटा खरिद गरियो । जसमा १० फुटका ८४ वटा जस्ता पाताका भ्याट बाहेकजम्मा एक लाख १६ हजार ८ सय १४ रुपैँयाको र ९ फुटका ३२ वटाको भ्याट बाहेक ३८ हजार ९ सय ३८ रुपैँयाको भ्याट विल विद्यालयलाई उपलब्ध गराएको छ । तर, विद्यालय ब्यबस्थापन समितिले खरेलबाट सामान ल्याउन दोस्रो ब्यक्ती ड्वाङपुरका रेशम चौधारीलाई जिम्मा दियो ।
उनी मार्फत नै जस्तापाता खरिद गरियो । त्यसपछि उनलाई भुक्तानी गर्दा ९ फिटका जस्तापाताको जम्मा ५६ हजार ८ सय र १० फिटका जस्तापातालाई १ लाख ७० चारसय रुपैँया भुक्तानी गरिएको कोषाध्यक्ष केसीले बताए । उनका अनुसार विद्यालय ब्यबस्थापनको निर्णयबाट नै उनलाई भुक्तानी दिईएको हो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कालुराम चौधरीले आफूलाई तत्कालिन प्रधानाध्यापकले त्यही रकम भनेको र सोही अनुसार निर्णय गरेको बताए ।‘मलाई प्रधानाध्यापकले जे भन्नुभयो, त्यही अनुसार काम गरेको हुँ ’,उनले भने । तत्कालिन अबस्थामा एकराज वली प्रधानाध्यापक थिए ।उनले यो सबै जिम्मा विद्यालय ब्यबस्थापन समितिकै भएकाले त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए ।
वडाध्यक्ष शंकर खड्काले यो विषयमा छलफलकालागि पटक–पटक सम्बन्धित ब्यक्तीहरुलाई पत्र पठाएपनि छलफलमा सहभागी नहुँदा समाधान गर्न समस्या भएको प्रतिक्रया दिए । खरेल इन्टरप्राइजेजका केशव आचार्यले पनि आफूले चलनचल्तीकै मूल्यमा दिएको बताए । ‘हामीले भ्याट विल नै दिएका छौं’, उनले भने‘त्यही अनुसार पसलले भुक्तानी लिएको छ ।’ यो विषयलाई लिएर निर्माण समितिमै विवाद देखिएको छ ।
लाइभदाङ । १७ भाद्र २०७९, शुक्रबार १३:३३ बजे