सरकारी शिक्षकको कागति खेति

दीपक बोहरा
तुलसीपुर,१८ साउन ।
दिनभर विद्यालयमा ब्यस्त हुने मिनबहादुर केसी साँझ विहान र विदाको समयमा भने सधै जसो बारीमै ब्यस्त हुनुहुनछ । दिनभरको विद्यालयको थकान मेट्ने एउटा माध्याम उहाँको बारी बन्ने गरेको छ । शान्तिनगर गाउँपालिका वडा नं. ४ गिधनिया निवासी सरकारी शिक्षक केसीले आफ्नो ६ कठ्ठा जग्गामा कागति र केरा खेति गर्नुभएको छ ।

शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित आधारभुत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको भूमिकामा रहनुभएका केसीले आफ्नो बारीमा कागति र केरा खेति गर्नु भएको छ ।“दिनभर स्कुलमा ब्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा ब्यस्त हुने गरेको छु”,उहाँले भन्नुभयो । उहाँले अहिले ६ कठ्ठामा कागति खेति गरेको भएपनि केही समय पछि ११ कठ्ठामा खेति गर्ने बताउनुभएको छ ।

कागति खेति गरेको एक बर्षको भएकाले तत्काल आम्दानी लिन नसकेको भएपनि केही समय पछि मनग्य आम्दानी गर्ने उहाँको धोको छ ।“तत्कालन आम्दानी लिन सकिएको छैन”,उहाँले भन्नुभयो“केही समयपछि मनग्य आम्दानी हुन्छ, भन्ने अपेक्षा गरेको छु ।”


दिनमा २ घण्टा हिडेर विद्यालय पुग्ने केसी अबको दुई बर्ष पछि अबकास लिदैहुुनुहुन्छ । उहाँ ५८ बर्ष हुनुभयो । लामो समय एउटै विद्यालयमा पढाउँदै आउनु भएका केसीले अबको दुई बर्षमा अबकास लिएर पूर्ण रुपमा ब्यबसायीक कृषि खेति गर्ने धोको राख्नु भएको छ ।“म २०४५ सालदेखि शिक्षण पेसामा छु,लामोसमय केराघारी स्कुलमा पढाउँदै आएको छु”,उहाँले भन्नुभयो“अहिले ५८ बर्षको भएँ, अब मैले अबकास लिएर ब्यबसायिक कृषि खेति सोँच बनाएकोे छु ।”

आफू शिक्षक पनि भएकाले आफूले समाजमा कृषि खेतिबाट मनग्य आम्दानी गरेपछि आफ्ना छिमेकीलाई पनि त्यो खेति तर्फ प्रोत्साहन गर्ने योजना छ । उहाँले आफू त्यस क्षेत्रको उदाहरणी किसान बनेर मनग्य आम्दानी गर्ने र त्यसबाट आरुलाई पनि आकर्षित गराउने योजना रहेको उहाँले बताउनुभयो । पहिलेदेखि नै कृषि खेतिप्रति चासो रहेपछि शिक्षण पेशाले गर्दा त्यस्तो समय मिलाउन नसकेपनि पछिल्लो समय भने आफूले समय निकालेर ब्यबसायिक खेति गर्ने गरेको बताउनुभयो ।