टरिगाउँबाट बाउजर कुनै पनि हालतमा लिन दिदैनौं : अपार

तुलसीपुर
१५ साउन / राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले टरिगाउँ एयरपोर्टबाट कुनै पनि हालतमा बाउजर लिन नदिने बताएका छन् । उनले बाउजर लिन लागेमा पार्टीले जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताए ।‘टरिगाउँबाट बाउजर लिन लागिएको भन्ने कुरा आएको छ, यो विषयमा मैले आयल निगमको कार्यालयमा बुझ्दै छु’,तुलसीपुर १२ निवासी अपारले भने‘यदि त्यस्तो हो भने चक्का जाम गरेर भएपनि हामीले लिन दिदैनौं ।’

त्यस्तै सोही वडाका वडाध्यक्ष खुसीराम चौधरीले पनि आफ्नो वडा भित्र रहेको एयरपोर्टबाट बाउजर लैजान लागेको भनि सूचना आएको भन्दै त्यो कुनै पनि हालतमा लैजान नदिने बताए । एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको अबस्थामा यसरी बाउजर लैजान खोज्नु यहाँको एयरपोर्टलाई ओझेलमा पार्न खोज्ने षडयन्त्र भएको भन्दै यसमा वडा कार्यालयले गम्भीर तरिकाले लिएको बताए ।
बाउजरले डिपोबाट जहाजसम्म इन्धन ओसारर्ने काम गर्छ ।


त्यसकालागि जेठ १२ गते तुलसीपुरमा बाउजर ल्याएपछि यस क्षेत्रका नागरिक खुसी भएका थिए । डिपो निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले दाङ–काठमाडौं हवाई भाडा कम हुने अपेक्षा लिइएको थियो । तर, बाउजर लिने कुराले यस क्षेत्रका नागरिक निराश भएका छन् । ११ हजार लिटर क्षमताको उक्त बाउजर रामेछापको मन्थली विमानस्थलमा लैजाने तयारी गरेको छ । एयरपोर्ट २०११ सालमा स्थापना भएको हो ।

उक्त विमानस्थलमा अहिले हप्तामा पाँच दिन उडान भर्ने गरेको छ । शनिबार र शुक्रबार बाहेक सबै दिन उडान भर्ने गरेको उक्त विमानस्थलमा ठूला जहाज बस्न नसक्दा यात्रुहरु महंगो भाडा तिर्न बाध्य छन् ।