तिहारमा २४ घण्टासम्म देउसी-भैलो खेल्न पाइने, गृह मन्त्रालयले तोक्यो सातबुँदे सर्त

काठमाडौं, २३ कार्तिक ।
गृह मन्त्रालयले तिहारका अवसरमा देउसी-भैलो कार्यक्रम २४ घण्टासम्म सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै आवश्यक सर्त र मर्यादा पालना गरेर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

मन्त्रालयको शान्तिसुरक्षा तथा अपराध नियन्त्रण शाखाले कात्तिक २३ गते जारी गरेको परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको देउसी-भैलो कार्यक्रम अनुशासित र मर्यादित रूपमा २४ घण्टा सञ्चालन गर्न दिन भनिएको छ।

यसअघि असोज २४ गते जारी गरिएको सूचनाको समेत पूर्ण कार्यान्वयन गराउन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। देउसी-भैलोका क्रममा शान्तिसुरक्षा, सामाजिक सदभाव र सार्वजनिक मर्यादा कायम राख्न मन्त्रालयले सातबुँदे सर्त निर्धारण गरेको छ।

निर्धारित सर्तअनुसार देउसी-भैलो कार्यक्रम स्वैच्छिक रूपमा सञ्चालन गर्नुपर्नेछ। कसैलाई पनि कार्यक्रममा सहभागी हुन वा चन्दा तथा दक्षिणा दिन बाध्य पार्न पाइनेछैन।

त्यस्तै, जातजाति, धर्म, भाषा, लिंग तथा समुदायबिच द्वेष र घृणा फैलाउने अश्लील गीत, संगीत, नृत्य तथा नाराको प्रयोग गर्न निषेध गरिएको छ।

मन्त्रालयले तिहारका नाममा जुवा तथा तास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने कार्य नगर्न पनि सचेत गराएको छ।


देउसी-भैलोका क्रममा अत्यधिक ठुलो आवाजमा साउन्ड सिस्टम तथा अन्य ध्वनि उपकरण प्रयोग गर्नसमेत रोक लगाइएको छ। अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष ध्यान दिई शान्त वातावरण कायम राख्न मन्त्रालयले आग्रह गरेको छ।

यसैगरी सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा ध्यान दिनुपर्ने परिपत्रमा उल्लेख छ। देउसी(भैलो खेल्दा जथाभावी फोहोर नगर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।

चाडपर्वका क्रममा कुनै शंकास्पद गतिविधि, दुर्घटना वा अन्य समस्या देखिए तत्काल प्रहरीको आपतकालीन नम्बर १०० वा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ।

शाखा अधिकृत आनन्द देश न्यौपानेद्वारा हस्ताक्षरित उक्त परिपत्रमार्फत मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सुरक्षा समन्वय र व्यवस्थापन मिलाउन निर्देशन दिएको छ।