विद्यालयका भित्तामा आफै चित्रकला भर्दै ‘भाइरल’ हेडसर

दाङ, २२ कार्तिक ।
विद्यालयको प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारीसँगै भित्तामा रङ र कुची बोकेर बालबालिकाको संसार कोर्न व्यस्त छन् एक प्रधानाध्यापक। उनी हुन् तुलसीपुर उपमहानगरपालिका–१, छोटे दाङस्थित श्री सृजनशील आधारभूत विद्यालयका प्रधानाध्यापक सन्तोष परियार।

विद्यालयको शैक्षिक वातावरण सुधार्ने र बालबालिकालाई विद्यालयप्रति आकर्षित गर्ने उद्देश्यले परियारले विद्यालयका भित्ताहरूमा विभिन्न आकर्षक बालचित्र तथा शैक्षिक चित्रहरू बनाउँदै आएका छन्। उनको यो सिर्जनात्मक अभियानमा चित्र बनाउन आवश्यक रङ खरिदका लागि निलकृष्ण जशोडा सीटौला फाउन्डेसनले आर्थिक सहयोग गरेको छ भने चित्र बनाउने सम्पूर्ण कला, सीप, समय र श्रम परियारले निःशुल्क प्रदान गरेका छन्। गत मात्र वर्ष फाउन्डेसन निज परियार लाई प्रतिभाशाली शिक्षकको रुपमा नगत सहित सम्मान गरेको थियो ।

मोटु–पतलु, छोटा भीम, विभिन्न बालकार्टुन पात्र, चराचुरुङ्गी, जनावर,विज्ञान , गणित तथा अङ्ग्रेजी का पढाइ सामाग्री , फूल तथा प्राकृतिक दृश्यहरूलाई उनले विद्यालयका भित्तामा जीवन्त रूपमा उतारिरहेका छन्। विशेषगरी प्रारम्भिक बालविकास (ECD) कक्षालाई लक्षित गरी बनाइएका यस्ता चित्रले विद्यालयको वातावरणलाई आकर्षक र बालमैत्री बनाउनुका साथै बालबालिकामा सिकाइप्रति उत्साह जगाउने अपेक्षा गरिएको छ।

प्रधानाध्यापकको जिम्मेवारी केवल विद्यालयको प्रशासनिक काममा सीमित नराखी आफूभित्रको कलात्मक प्रतिभालाई पनि विद्यालयको विकासमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण परियारले प्रस्तुत गरेका छन्। गीत, सङ्गीत, अभिनय, चित्रकला र दृश्य सामग्रीलाई शिक्षण सिकाइसँग जोडेर विद्यार्थीलाई पढाउने नवीन शैलीका कारण उनी चर्चित छन्। सामाजिक सञ्जालमा उनका सिर्जनात्मक शिक्षण भिडियोहरू लाखौँ दर्शकसम्म पुगेका छन्। यही कारण उनी ‘भाइरल सर’का रूपमा समेत परिचित छन्।


परियारको सोचमा विद्यालयका भित्ताहरू केवल रङले सजाउने ठाउँ होइनन्, ती बालबालिकाका लागि सिकाइका जीवन्त पुस्तक हुन्। बालबालिकाले विद्यालय प्रवेश गर्नेबित्तिकै खुसी महसुस गरून्, चित्र हेर्दै नयाँ कुरा सिकून् र आफ्नो कल्पनाशक्तिलाई विस्तार गर्न सकून् भन्ने उनको चाहना छ।

यस अभियानमा फाउन्डेसनको आर्थिक सहयोग र प्रधानाध्यापक परियारको निःशुल्क कला तथा श्रमदानले सामाजिक सहकार्यको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। एउटा संस्थाको सहयोगी हात र एक प्रधानाध्यापकको सिर्जनशील सोचले विद्यालयको वातावरणमा नयाँ रङ थपिरहेको छ।

‘प्रधानाध्यापकको जिम्मेवारी कार्यालयको कुर्सीमा बसेर मात्र पूरा हुँदैन, कहिलेकाहीँ बालबालिकाको खुसीका लागि हातमा कुची र रङ बोकेर भित्तामा सपना कोर्नु पनि नेतृत्वकै एउटा सुन्दर रूप हो।’ परियारको यो प्रयासले एउटा महत्वपूर्ण सन्देश दिएको छ—विद्यालय परिवर्तन गर्न सधैँ ठूलो बजेट नै चाहिँदैन, सहयोगी मन, सिर्जनशील सीप र सेवाभाव भए पनि परिवर्तन सम्भव छ।