राप्ती गाउँपालिकाद्वारा विद्यालय वरपर जंकफुड बिक्री गर्न रोक

दाङ,१२ साउन ।
दाङको राप्ती गाउँपालिकाले विद्यालय वरपर जंक फुड बिक्री गर्न रोक लगाएको छ । गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय पछि विद्यालयको एक सय मिटर वरपर जंकफुट तथा कोल्ड ड्रिङ्सजन्य बस्तु विक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार जंकफुडले बालबालिकाको शारिरीक तथा मानसिक स्वास्थ्यमा असर पर्ने भन्दै यसलाई निशेष गरिएको हो । उनका अनुसार जंक फुडका साटो स्थानीय स्तरमा उत्पादन हुने फलफूल अन्न धान, मकै, गहुँ, अण्डा, तरकारी तथा सागसब्जी, काउली, आलु, केराउ, चना आदिबाट बनेका खाना तथा खाजाको बिक्री वितरणको व्यवस्था मिलाउन समेत विद्यालयलाई निर्देशन दिइएको छ । त्यस्तै कोल्ड ड्रिङ्सको साटो दूध,दहि,महि, लसी, पनिरलगायत प्रयोगकालागि प्रोत्साहन गर्न समेत निर्देशन दिएको छ ।


सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थालगायतले सार्वजनिक कार्यक्रममा प्लाष्टिकका फूल, खादा तथा चिसो पेय पदार्थ र जंक फुड प्रयोग नगर्ने निर्णय गरेको थियो । अध्यक्ष विष्टले प्लाष्टिकका प्लास्टिक जन्य वस्तुको साटो स्थानीय स्तरमा उत्पादन भएका फूलको प्रयोग गर्न समेत निर्देशन दिएको बताए ।

त्यस्तै विद्यार्थीले गह्रुंगो झोला बोक्दा टाउको तथा हड्डीमा समेत नाकरात्मक असर पर्ने भन्दै निजी तथा सामुदायिक विद्यालयलाई गह्रो झोला बोक्ने अबस्थाका अन्त्य गर्न समेत निर्देशन दिएको अध्यक्ष विष्टले बताए । उनका अनुसार परिबर्तनको सुरुवात स–साना कामबाट गर्नुपर्ने भन्दै बानीब्यहोरालाई सुधार गर्नकालागि यस्तो निर्णय गरिएको हो । यो निर्णय कार्यान्वयन भए मात्रै पनि राप्तीले पहिचान भिन्नै हुने समेत बताए ।“हामीले सुरुवात स–साना कुराबाटै गर्ने हो”,उनले भने“यो निर्णय मात्रै कार्यान्वयन भएपनि गाउँपालिकाले पहिचान भिन्नै हुन्छ ।”