
तुलसीपुर, १३ बैशाख ।
दाङको तुलसीपुरमा दुई दिनसम्म चलेको राष्ट्रिय महासंघको गोष्ठी १३ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । ‘खानेपानी आयोजना सञ्चालन, व्यवस्थापन तथा गुणस्तर’ सम्बन्धी दाङका खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाहरुको गोष्ठी शनिबार सकिएको हो ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको आयोजनामा भएको कार्यशाला गोष्ठीले खानेपानी संस्था तथा आयोजनाहरूको विवरण अद्यावधिक गरी पारदर्शिता कायम गर्ने, मिटर प्रणालीसहितको पूर्ण पाइप प्रणाली र गुणस्तरीय पानी वितरण सुनिश्चित गर्ने, मौलिक हकको प्रत्याभूति गर्न करमुक्त आयोजनाको माग र सरकारी सहयोगमा प्रविधि मैत्री परियोजनाको निर्माण गने, शुद्ध पानीको जनचेतना अभिवृद्धि र आवश्यक स्थानमा पानी प्रशोधन केन्द्रको निर्माण गर्ने, नदी उत्खनन रोक्न र मुहान संरक्षणका लागि वृक्षारोपण र वातावरणीय सन्तुलन कायम गर्ने पहल गर्ने, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न दिगो समाधान र जलवायु न्यायका लागि अपिल गर्ने, साना आयोजना मर्जर गरेर व्यवस्थापनमा दक्षता ल्याउने रणनीति बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।
“जनताको पानी, सरकारको लगानी” भन्ने नारालाई कार्यान्वयन गर्नुपर्ने पनि घोषणा पत्रमा उल्लेख छ । शुक्रबार र शनिबार दाङको तुलसीपुरमा गोष्ठी भएको हो । गोष्ठीमा तीनै तहका सरकारका प्रतिनिधि, जिल्लाका उपभोक्ता समितिका पदाधिकारीहरु, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।



गोष्ठीमा जिल्ला स्थित उपभोक्ता समितिका प्रतिनिधिहिरुले खानेपानीका समस्याहरु राखेका थिए । त्यस क्रममा खानेपानीको मुहान सुक्दै गएको, खानेपानीका योजनामा उपभोक्ताले पनि लगानी गर्नुपर्ने, विद्युत महशुलमा छुट नभएको, करमा छुट नभएको जस्ता गुनासो गरेका थिए ।
यस्ता कुरालाई सम्बोधन गर्न तथा विषय उठान गर्न सहज होस्, भनि यस्तो कार्यक्रम आयोजना गरिएको महासंघका अध्यक्ष खेमराज वलीले बताए ।
लाइभदाङ । १३ बैशाख २०८२, शनिबार २३:५९ बजे