तुलसीपुरबाट चुनढुंगा उत्खनन् प्रक्रिया रोक्न युवा संघ नेपाल दाङको ध्यानाकर्षण

तुलसीपुर
२८ असार / एकीकृत समाजवादी निकट युवा संघ नेपालले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई ध्यानाकर्षण गराएको छ । सोमबार संघका जिल्ला अध्यक्ष हरिश गिरीको नेतृत्वको टोलीले तुलसीपुरबाट चुनढुंगा उत्खनन् गर्ने कार्यको प्रक्रिया अगाडी नबढाउनकाागि ध्यानाकर्षण गराएको हो । अहिले पनि सुनगाभा माइन्स प्रालिले चुनढुंगा उत्खनन्को अनुमति कार्य अगाडी बढाइरहेको भन्दै यो कार्य रोक्नकालागि पहल थाल्न माग गरेको हो ।

त्यस्तै बर्षादको समयमा हुने सम्भावित जोखिम न्यूनिकरण गर्ने कार्य फितलो भएको भन्दै यसलाई गम्भीर लिन, तुलसीपुरको बजार क्षेत्रमा सडक निर्माण कार्य अलपत्र हुँदा आवतजावतमा समस्या पर्नुकासाथै ब्यबसायमा समेत समस्या रहेको भन्दै यसमा ध्यान दिनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।


संघको यस अघि बसेको बैठकले स्थानीय सरकारको बेथिति विरुद्ध आवाज उठाउने निर्णय गरेको थियो । सोही अनुसार आफूहरुलाई ध्यानाकर्षण गराएको अध्यक्ष गिरीले बताए । गिरीका अनुसार संघले मुलुकमा हुने भ्रष्टाचार, बेथिति, कालोबजारी र अन्यायका विरुद्ध आवाज उठाउँदै आएको छ ।