टरिगाउँ एयरपोर्टको विजोग देख्दा दुःख लाग्छःपूर्वमन्त्री गिरी

दाङ,१० भदौ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीले टरिगाउँ एयरपोर्टको बेजोग देख्दा दुःख लागेको बताएका छन् । तुलसीपुर नगर जेसिजले आयोजना गरेको अन्तरविद्यालय स्तरीय फुटसल प्रतियोगितालाई उद्घाटन गर्दै उनले टरिगाउँ एयरपोर्ट स्तरबृद्धिकालागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए ।‘एउटा एयरपोर्ट नेपालगञ्ज्मा छ, त्यहाँको मौसम खराब हुँदा अर्को अल्टरनेट एयरपोर्ट चाहिन्छ । त्यो एयरपोर्ट दाङलाई बनाउनु पर्छ’,उनले भने‘ त्यसकालागि हामी सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्छ ।’

टरिगाउँ एयरपोर्ट ऐतिहासिक भएको भन्दै यसलाई स्तरबृद्धिकालागि स्तरीय विज्ञ ल्याउनु पर्ने बताए ।‘एयरपोर्टका सन्दर्भमा विज्ञहरुपनि दुई धार देखिन्छन्, कसैले १७०० मिटर बनाउन मिल्छ भन्छन्, कसैले धावनमार्ग विस्तार गर्न मिल्दैन भन्छन्’,उनले भने‘यसरी हुँदैन्, अब स्तरीय विज्ञ ल्याएर एयरपोर्टलाई स्तरबृद्धि गर्नुपर्छ ।’

पुल पुलेसामा अरबौ बजेट विनियोजन गर्न सकिने र तर, एयरपोर्टलाई विनियोजन गर्न सकिदैन भन्ने कुरा नहुँने भन्दै २÷४ अर्ब नै छुट्याउन सकिने उनले बताए । त्यसकालागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने उनको भनाई थियो । एयरपोर्टलाई स्तरबृद्धि गर्न राजनीतिक दलहरु एकजुट हुनुपर्ने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।


त्यस अवसरमा जेसिजका राष्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई, महेन्द्र मावि तुलसीपुरका अध्यक्ष अरुण लहरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संयोजक शैलेन्द्र वलीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब पूर्णविक्रम डाँगीले गरेका थिए । प्रतियोगिता दुई दिनसम्म चल्नेछ । जसमा तुलसीपुर क्षेत्रका २१ टिमले सहभागिता जनाएका थिए ।