युवतीलाई खुकुरी देखाएर यातना दिने युवक लागु औषधसहित पक्राउ

दाङ, ३ असार ।
खुकुरी देखाएर युवतिलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि दाङ तुलसीपुरका एक युवक पक्राउ परेका छन् । मंगलबार भिडियो सार्वजनिक भएपछि प्रहरीले खोजी गर्दा उनी घरबाटै लागुऔषध सहित पक्राउ परेका हुन् ।

तीन महिना अघि खिचिएको भिडियो मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं.२ भमके निवासी २४ बर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार घरबाट प्रेगामयाक्स १ ट्याब्लेट, ट्रोहमो ४२ ट्याब्लेट, एन्टिकोप २ ट्याब्लेट र निट्राजोहम ५ ट्याब्लेट औषधी सहित पक्राउ गरिएको हो ।


उनीहरुबीच आन्तरिक विवादका कारण ति युवकले खुकुरी देखाएर युवतिलाई यातना दिएको खुलेको हो । उनीहरुबीच सुरुमा समान्य चिनजान भएको र युवकको स्वभाव मन नपरेपछि युवति सम्पर्कमा नआउँदा यस्तो ब्यबहार गरेको युवतिले बयान दिएकी छन् । घटना तीन महिना अघिको भएपनि मंगलबार मात्रै भिडियो सार्वजनिक गरिएको थियो । युवकलाई प्रहरीले लागुऔषध दुव्र्यशनी विरुद्ध अनुसन्धान गर्ने जनाएको छ । सोही क्रममा संगै रहेका तुलसीपुर २ बालापुर बस्ने २१ बर्षीय जीवराज खत्रीलाई समेत पक्राउ गरिएको छ । उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको हो ।