इप्रका तुलसीपुरको जग्गामा घर बनाएकाहरु आफै खाली गर्न थाले

तुलसीपुर,२ असार ।
दाङ स्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको जग्गामा घर बनाएकाहरुले आफै जग्गा खाली गर्न थालेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर र सोही स्थानमा बसेकाहरुबीचको छलफल पछि उनीहरु आफैले जग्गा खाली गर्न थालेका हुन् । कार्यालयको उत्तरतर्फ २ कठ्ठा जग्गा अतिक्रमणमा परेको थियो ।

सोही जग्गामा ९ वटा घरहरु बनेका थिए । ति सबैले घर खाली गर्न थालेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो । उहाँका अनुसार ९ वटा घर मध्ये दुई घर सुकुम्वासी रहेकाले उनीहरुको ब्यबस्थापन तुलसीपुर उपमहानगरपालिकाले गर्ने सहमति भएको समेत प्रमुख पराजुलीले बताउनुभयो । इप्रका तुलसीपुरको ५ कठ्ठा १० धुर जग्गा थियो ।


ति मध्ये दुई कठ्ठा अतिक्रमणमा परेको थियो । कार्यालयले १२ जेठमा १५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न भनेको थियो । अहिले प्रहरी आफैले खाली गर्नकालागि सामान ओसार–पसार गर्न गाडी समेत सहयोग गर्ने गरेको छ । कुनै पनि विवादरहित तरिकाले जग्गा खाली गरिएको प्रमुख पराजुलीले बताउनुभयो । त्यो जग्गा खाली भएपछि महिला सेलको भवन निर्माण गर्ने गरि तयारी गरेको उहाँको भनाई छ ।“अहिले निकै साघुरो ठाउँमा भवन हुँदा निकै गाह्रो हुने गरेको छ”, प्रमुख पराजुलीले भन्नुभयो“अब त्यो खाली भएपछि प्रतिवेदन तयार गरेर तत्काल महिला सेलको भवन निर्माण गर्नेछौं ।”

जग्गा थप्दै प्रहरी
इलाका प्रहरी कार्यालय जग्गा थप गर्न समेत पहल गरेको छ । प्रहरी भवन निर्माणकालागि तुलसीपुर १८ बेलझुण्डीमा ८ कठ्ठा जग्गा भोगाधिकार समेत लिएको छ । प्रमुख पराजुलीका अनुसार नेपाल संस्कृत विश्वविद्यालयले ८ कठ्ठा जग्गा दिएको भन्दै सोही जग्गामा तत्काल भवन निर्माणकालागि प्रदेश सरकारसंग पहल गरेको बताउनुभयो ।“प्रदेशसंग हामीले पहल गरेका छौं, बजेट बक्तब्य आयो, रातो किता आएपछि थाहा होला”,उहाँले भन्नुभयो“सायद यही पटक नै बजेट आएर भवन बन्छ होला ।”