
तुलसीपुर,२ असार ।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८३/०८४ कालागि ल्याएको बजेटमा दाङमा स्थायी राजधानी व्यस्थापनदेखि प्रादेशिक अस्पताल स्तरबृद्धिसम्मका विषय समेटिएका छन् ।
सोमबार प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले संसदमा पेश गरेको बजेट बक्तब्यमा दाङको राप्ती उपत्यका(देउखुरी) मा प्रदेश राजधानी व्यवस्थापन र निर्माणको दोस्रो चरणको कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश राजधानीभित्र संसदीय समितिका भवनहरू र अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने समेत बजेट बक्तब्यमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रदेश राजधानी गुरुयोजना अनुरूप राजधानीभित्रका प्रमुख सडकहरूको रेखांकन र आधारभूत संरचना निर्माणका लागि बजेट व्यवस्था गरिएको छ , भने राप्ती गाउँपालिकासँगको समन्वयमा आधुनिक प्रविधिको प्रयोग गरी प्रदेश राजधानीको फोहोर व्यवस्थापन गर्न अध्ययन र पूर्वाधार निर्माण गरिने लक्ष्य रहेको छ । त्यसतै घोराहीमा प्याराडाइज बोटानीकल पार्क र रुटाहा ताल पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका लागि ११ करोड, थारु राजा दंगीशरणको इतिहास संरक्षणका लागि सकुौरा पर्यटकीय स्थलको पूर्वाधार निर्माण र थारु संग्रहालय निर्माणका लागि ४ करोड, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
दाङको महत्वपूर्ण सिँचाइ प्रणालीको रूपमा रहेको प्रगन्ना कुलो लगायतका सिँचाइ प्रणालीहरूको सुदृढीकरण, दिगो व्यवस्थापन र सञ्चालनका लागि १५ करोड रुपैँया विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताउनुभयो ।



लाइभदाङ । २ असार २०८३, मंगलवार ०५:५६ बजे