वडा नम्बर ६ स्तरीय फुटबल प्रतियोगिताको उपाधि देउपुर फुटबल टिमलाई

प्रिया स्मृती गजमेर
देउखुरी,२ असार ।
लमही नगरपालिका वडा नम्बर ६ को आयोजनामा सञ्चालित वडा स्तरीय फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै स्वस्थ, अनुशासित र सिर्जनशील समाज निर्माण गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उपाधि देउपुर फुटबल टिमले जित्न सफल भएको हो ।

प्रतियोगिताको फाइनल खेलमा देउपुर फुटबल टिमले मध्यनगर फुटबल टिमलाई ५ – १ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उत्कृष्ट प्रदर्शन गर्दै विजेता बनेको देउपुर फुटबल टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता बनेको मध्यनगर फुटबल टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

वडा नम्बर ६ भित्रका विभिन्न टोल तथा समूहका गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको प्रतियोगिताले स्थानीय युवाहरूबीच उत्साह थप्नुका साथै खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले खेलकुद मनोरञ्जन वा प्रतिस्पर्धाको माध्यम मात्र नभई व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएको बताउनुभयो । उहाँले खेलकुदमार्फत स्वस्थ नागरिक निर्माण गर्न सकिने र खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म देशको पहिचान स्थापित गर्न सक्ने उल्लेख गर्नुभयो ।

“खेलकुदले युवाहरूलाई अनुशासित, जिम्मेवार र लक्ष्यप्रति प्रतिबद्ध बनाउँछ,” नगर प्रमुख चौधरीले भन्नुभयो, “आजका युवाहरूलाई सकारात्मक मार्गमा अघि बढाउन खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण छ । स्थानीय तहले खेलाडी उत्पादन र खेलकुद पूर्वाधार विकासमा लगानी बढाउँदै लैजानुपर्छ ।”


उहाँले युवाहरू राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई सही दिशामा परिचालन गर्न खेलकुद सबैभन्दा प्रभावकारी माध्यममध्ये एक रहेको धारणा व्यक्त गर्नुभयो । खेलकुदमार्फत व्यक्तिगत विकाससँगै समाज र राष्ट्रको गौरव बढाउन सकिने भएकाले स्थानीय सरकार सदैव खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

त्यसैगरी कार्यक्रमका सभापति तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले युवाहरूको चाहना, आवश्यकता र सुझावलाई प्राथमिकतामा राखेर वडा कार्यालयले खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्दै आएको बताउनुभयो । युवाहरूलाई कुलत तथा विकृतिबाट टाढा राखी सिर्जनात्मक र उत्पादनमूलक गतिविधितर्फ आकर्षित गर्न खेलकुद प्रभावकारी माध्यम बनेको उहाँले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष चौधरीले खेलकुदले युवाहरूको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा समेत खेलकुद क्षेत्रका लागि आवश्यक बजेट तथा कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । “युवाहरूको ऊर्जा र क्षमतालाई सकारात्मक दिशामा उपयोग गर्न सके मात्रै समृद्ध समाज निर्माण सम्भव हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले वडा कार्यालयले खेलकुदलाई प्राथमिकतामा राखेर हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ र आगामी दिनमा पनि यो अभियान निरन्तर रहनेछ ।”

कार्यक्रममा वडा सदस्य कृष्ण बहादुर खत्री क्षेत्री, मन्दिरा रसाइली लगायत जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । प्रतियोगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमको सञ्चालन अनुप बुढा मगरले गर्नुभएको थियो ।